कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय भागबन्डा टुंग्याएका छन्। आज दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिनुभयो।जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १र१ मन्त्रालय पाउने नेता आङ्बोले बताउनुभयो । कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्।
सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एकजना मन्त्री बन्नेछन्। गठबन्धन सहमतिमा पुगेका कारण तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेता आङ्बोले बताए। कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति भइसकेको छैन। प्रदेशको संसदीय समितिको भागबन्डाबारे भने अन्य दलहरुसँगको छलफलपछि निर्णय हुने उहाँले बताउनुभयो । आजको बैठकमा सरकारले अध्यादेशमार्फत ल्याउने बजेट प्रतिस्थापन विधेयकमा निश्चित मापदण्ड बनाएर संसोधन गर्ने सहमति समेत भएको बताईएको छ ।
