अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन

बिआरटीनेपाल २०८० कार्तिक २५ गते ५:१४ मा प्रकाशित

संसदीय समितिले जाजरकोटसहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शनिबार सभामुख देवराज घिमिरेलाई बुझाएको सो क्षेत्रको भुकम्पसम्बन्धि स्थलगत प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।प्रतिवेदनमा तिहार लगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन सरकारलाई सचेत गराउने कुरा उल्लेख गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो । समितिले मृतकका सबै परिवारलाई राहत दिने काममा पनि ढिलाई नगर्न सरकारलाई भनेको छ ।

प्रधानमन्त्रीलाई भेटेर आफूहरुले मृतकका आफन्तलाई तत्काल राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको समितिका सभापति खतिवडाले बताउनुभयो । समितिले स्थानीय सरकार आत्तिएकाले राहत, उद्धार र पुनस्र्थापनाको गर्न सहज ढंगले गर्न नसक्ने अवस्था रहेको पाइएको निष्कर्ष पनि निकालेको छ । त्यसैगरी सल्यान, दैलेख, कालिकोट, हुम्ला, सुर्खेतमा पनि भूकम्पको असर परेकाले त्यतातिर पनि ध्यान दिन समितिले सरकारलाई भनेको छ ।

प्रतिवेदनमा अवको ६ महिना भित्र पीडितका लागि भूकम्प प्रतिरोधी आवास बनाउने काम सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । समितिले त्यसक्रममा प्रदेश सरकार, प्रदेश संसदका पदाधिकारीहरुसँग पनि छलफल गरी पीडितलाई आवश्यक राहतको व्यवस्था गर्न आग्रह गरेको थियो । यता, समितिको प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले समितिले पीडाका बेला संसदले पनि केही गर्न सक्दो रहेछ भन्ने सन्देश दिएको उल्लेख गर्दै स्थलगत अनुगमन गएका समितिका सांसदहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँले तिहार सकिने बित्तिकै राहतका लागि आवश्यक व्यवस्था मिलाउने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । सभामुख घिमिरेले भूकम्प पीडितहरुको अवस्था बुझ्नका लागि आफैँले खर्च व्यवस्थापन गरेर समितिका सांसदहरु गएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय