अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : कांग्रेस नेता सिंह

बिआरटीनेपाल २०८० कार्तिक २४ गते ५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने दाबी गर्नुभएको छ । लौहपुरूष गणेशमान सिंहको १ सय ९ ओै जन्मजयन्तिमा आज काठमाडौमा आयोजित कार्यक्रममा नेता सिंहले कुनै पनि हालतमा गणतन्त्र खतरामा नपर्ने बताउनुभएको हो । उहाँले संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्ने पनि प्रष्ट पार्नु भयो । गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको भन्दै पाँच वर्षसम्म यही गठबन्धन टिक्ने पनि ठोकुवा गर्नुभयो ।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको नेता सिंहको भनाइ थियो । उहाँले जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न अब राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने पनि बताउनुभयो । अहिले जनताले परिणाम खोजिरहेका हुनाले जनताको जीवनस्तर उठाउनेतर्फ ध्यान दिनुपर्ने नेता सिंहकोे भनाइ थियो । सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने खाँचो उहाँले औल्याउनुभयो । तीनै तहका सरकारलाई आवश्यक अधिकार दिएर अघि बढ्नु पर्ने नेता सिंहको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय