‘पुतली बाजे’ नामबाट परिचित कलिन फिलिप स्मिथको अन्त्येष्टि गरिएको छ। सोमबार दिउँसो पोखराको गाईघाटमा क्रिश्चियन परम्पराअनुसार उहाँको अन्त्येष्टि गरिएको हो। स्मिथकै चहानाअनुसार उहाँको शव गाडिएको छ। नेपालमा पाइने ६ सय ४० प्रजातिभन्दा बढी पुतलीबारे खोज अनुसन्धान गरेका बेलायती नागरिक कलिन फिलिप स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँ पछिल्लो २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो। हरियोखर्क अस्पताल पोखरामा उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो । अन्तिम संस्कारपूर्व ‘पुतली बाजे’ को पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस पोखराको पुतली संग्रहालयमा राखिएको थियो। जहाँ स्मिथले ४० भन्दा बढी जिल्लामा पुगेर संकलन गरेको २५ हजार पुतली संगृहीत छ। ०२३ मा खुलेको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम अहिले पुतली संग्रहालयको रुपमा चिनिन्छ।
पोखरा महानगरपालिकाले स्मिथको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम बिदाइ गरेको छ। पुतली संग्रहालयमा पार्थिव शरीरमाथि श्रद्धाञ्जली दिँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको शैक्षिक विकासमा स्मिथको योगदानको चर्चा गर्नुभएको थियो ।
