अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

भूकम्प पीडितलाई बाग्मती र सदूरपश्चिम प्रदेशले साढे दुई करोड र कांग्रेसले ५० लाख रुपैयाँ दिने

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ४:२९ मा प्रकाशित

भूकम्प प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाको लागि विभिन्न क्षेत्रबाट सहयोग रकमको घोषणा हुन थालेको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्कालै राहत र उद्धार तथा पुन:स्थापनाको लागि रकमको घोषणा शुरु भएको हो । सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई एक करोड रुपैयाँ राहत दिने घोषणा गरेको हो ।

शनिवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो । सुदूरपश्चिमले जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्यकर्मी पनि पठाउने भएको छ । यस्तै, बाग्मती प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुन:स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो । यस्तै, नेपाली कांग्रेसले पनि भूकम्प पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गरेको छ । कांग्रेसले सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय