उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने बताउनुभएको छ । आज रक्षा मन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउँदा केवल देश जनताको हित, प्रगति मात्र ध्यानमा राखेर काम गरे कुनै पनि निर्णय गर्ने अधिकारीले कलम चलाउन डराउन नपर्ने बताउनुभयो ।
कुनैपनि काम गर्दै स्वार्थ, लोभ र डरबाट मुक्त भएर काम गर्न उहाँले मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री खड्काले तराई–मधेश द्रुतमार्ग नेपाली सेना र नेपालकै लागि प्रतिष्ठाको विषय भएकाले यसलाई समयमै सम्पन्न गर्ने विषयमा कुनै सम्झौता गर्न नसकिने पनि प्रष्ट पार्नुभएको छ । यसमा निर्णय गर्ने अधिकारी देखि काम गर्ने ठेकेदारसम्मले कुनैपनि बाहनामा ढिला सुस्ती गरे त्यसमा सरकार कडाइका साथ जाने पनि उपप्रधानमन्त्री खड्काले प्रष्ट पानुृभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘फाष्ट ट्रयाकको काम तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन, कहीँ कतै काममा अवरोध हुने समस्या आए तुरुन्त समाधान गर्न सरकार तयार छ ।’
अहिलेसम्म विकास निर्माणले गति लिन नसकेको विषयमा सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उपप्रधानमन्त्री खड्काले परम्परागत शैलीमा काम गरेर चमत्कारिक परिणाम दिन नसकिने भएकाले काम गर्ने शैलीमा आधुनिकिरण गर्न पनि निर्देशन दिनुभयो ।
