नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एक ढिक्का रहेको बताउनुभएको छ । पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको भन्दै उहाँले आएका छिटपुट गुनासा सम्बोधन हुने दावी गर्नुभयो । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।
बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले संविधानको पूर्ण कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । ‘संविधानका विषयमा गुनासा छन् । तर सम्बोधन गर्नै नसक्ने खालका छैनन्,’ उहाँले भन्नुभयो, ‘जसले जे भने पनि विश्वास नगरौँ । यो संविधान कार्यान्वयन गरेरै छोड्छौँ ।’
सङ्घीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उहाँको भनाई छ । ‘सङ्घीयता नयाँ हो । गुनासा आएका छन् । तर हामीले स्वाभाविक नै मानेका छौँ,’ देउवाले भन्नुभयो,, ‘कार्यान्वयनमा शङ्का नगर्नुस् ।’ जिल्ला सम्मेलन मार्फत कांग्रेसले आगामी कार्यदिशा पत्ता लगाउने उहाको भनाई थियो ।
