काभ्रे जिल्लाको पनौती नगरपालिका-२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । मंगलबार दिउँसो पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख. ६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा सवारी चालक पनौती-२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनमा बेथानचोक-२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएको डीएसपी श्रेष्ठले बताउनुभयो । तिमल्सिनाको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ ।
