अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

बाँकेमा दुर्गा भवानीको मूर्ति विसर्जनको दिन आज जाँडरक्सी खान र बेच्न रोक

बिआरटीनेपाल २०८० कार्तिक ७ गते २०:०४ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन आज जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ । कार्यालयले विज्ञप्ति निकालेर आज बुधवार दुर्गाको मूर्ति विसर्जनका लागि जुलुस निस्कने भएकाले जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बिहान ८ बजेदेखि राति १२ बजेसम्म जिल्लाभरि नै जाँडरक्सी ओसारपसार, बिक्री वितरण तथा उपभोगमा पूर्ण निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्ण रूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको उल्लेख छ ।

अटेर गरी कुनै पनि गतिविधि भएमा कानुन अनुसार कारबाही हुने विज्ञप्तिमा भनिएको छ । दशैँको भोलिपल्ट विभिन्न ठाउँमा दुर्गा भवानीको मूर्ति पवित्र जल कुण्ड/नदी घाटहरूमा विसर्जन गर्ने परम्परा छ । मूर्ति विसर्जनका लागि बाँकेमा समय सीमा निर्धारण गरिएको छ । भरे बेलुका ५ बजे अघि नै मूर्ति विसर्जन गर्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय