उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ । विजयादशमी २०८० का अवसरमा मंगलबार शुभकामना दिँदै उहाँले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजया दशमी अभिप्रेरित रहेको बताउनुभयो।
उहाँले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशीता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गणतन्त्रले गरेको बताउनुभयो।
भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार बडादसैं, दशहरा, दुर्गापूजा, नवरात्री आदि नामले मनाइने विजयादशमी पर्व अधर्ममाथि धर्म, खराबमाथि असल एवम् असत्यमाथि सत्यको जीतका रुपमा परापूर्वकालदेखि हिन्दूले बनाउँदै आएको यादवले उल्लेख गर्नुभएको छ । ‘आ–आफ्नो मौलिक चलन, परम्परा, रीतिरिवाज, विधि–विधान, अनुष्ठान र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा यो चाड बनाउनुले विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुगेको छ,’ उहाँले सन्देशमा भन्नुभएको छ । विजया दशमीले सामाजिक विविधतालाई सुदृढ र प्रगाढ बनाउँदै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन उत्प्रेरित गर्ने यादवको भनाइ छ। उपराष्ट्रपति यादवले धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको विजया दशमीले अहंकार, लोभ, मोह, क्रोध जस्तो खराब आचरणबाट टाढा रहन पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
