अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

एनआरएनए विश्व सम्मेलन-नयाँ नेतृत्वका लागि ५९ देशका ४ हजार २ सय २७ जनाले मतदान गर्दै

बिआरटीनेपाल २०८० कार्तिक १ गते २१:०९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्व चयनका लागि नेपालमा आज मतदान हुँदै छ । विदेशमा रहेका नेपालीकाहरूका लागि भने बुधबार रातिबाटै अनलाइन भोटिङ खुला गरिएको छ । जसले मतदानको समय सुरु भएदेखि चौबिस घण्टाभित्र मतदान गरिसक्नुपर्नेछ । नेपालमा उपस्थित भएका प्रतिनिधिहरूले भने बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेभित्र मतदान गरिसक्नुपर्नेछ । ५९ देशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले अनलाइनबाट मतदान गर्न पाउने छन् । निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार २ सय २७ छ । जसमध्ये बुधबारसम्म ९ सय हाराहारी प्रतिनिधि मतदानका लागि नेपाल आइपुगेका छन् ।

उनीहरूले निर्वाचन समितिले तोकेको नियमअनुसार मतदान गर्नेछन् । एनआरएनएका अनुसार संघको इतिहासमै पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ हुन लागेको हो । ११ औं विश्व सम्मेलनमा सहभागी हुनका लागि नेपाल आइपुगेका मतदाताले भने सोल्टी होटल परिसरमा व्यवस्थापन गरिएको मतदान केन्द्रबाट मतदान गर्नुपर्नेछ । अनलाइन भोटिङ हुने भएकाले मतदानका लागि २० वटा ल्यापटपको व्यवस्था गरिएको छ । निर्वाचन समितिले व्यवस्थापन गरेको ल्यापटपबाहेक अन्य मोबाइल तथा डिभाइसबाट मतदान गर्न नपाइने प्रमुख निर्वाचन अधिकृत यादव ढुंगानाले बताए । उनका अनुसार तोकिएको निर्वाचन केन्द्रभन्दा बाहिर गएर मतदान गर्न पाइने छैन । ७४ पदमा नयाँ नेतृत्व चयन हुनेछ । ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी नपर्ने अधिकांश अफ्रिकन मूलका देशहरू रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार त्यस्तै विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । अब ४१ पदका लागि ९७ जनाको उम्मेदवारी कायम छ ।

‘अनलाइन भोटिङ हुने भएकाले रिजल्ट आउन धेरै समय लाग्ने छैन,’ प्रमुख निर्वाचन अधिकृत ढुंगानाले भन्नुभयो, ‘सम्भव भएसम्म बिहीबार राति नै र नभए शुक्रबार बिहानसम्म रिजल्ट आइसक्नेछ ।’ अनलाइन भोटिङले छिटो रिजल्ट आउन सजिलो बनाउने उहाँको भनाइ छ । ‘पहिला ब्यालेटमार्फत भोट हुन्थ्यो, जसले गर्दा गणना गर्न समय लाग्थ्यो,’ उहाँले भन्नुभयो, ‘यो पटक अनलाइन भोटिङ भएकाले गणना गर्न पर्दैन, अनलाइनमार्फत छिट्टै रिजल्ट आउनेछ ।’

अध्यक्ष पदका चार प्रत्यासीमा बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र आरके (राजेन्द्रकुमार) शर्मा रहनुभएको छ  । उम्मेदवारी फिर्ताको समयसीमा सकिएपनि बुधबार साँझ हालकी अध्यक्ष थापाले श्रेष्ठलाई अध्यक्षका लागि समर्थन गर्ने बताउनुभएको थियो । ६ उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षका लागि दुई र युवा उपाध्यक्षका लागि पनि दुई जनाकै उम्मेदवारी कायम छ । महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । उपमहासचिव दुई पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

सचिव ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी कायम छ । सहकोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए विश्व सम्मेलन मंगलबारबाट सुरु भएको हो । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा तथा ‘ज्ञान र रूपान्तरण: समृद्धिको आधार’ विषयमा केन्द्रित भई विश्व सम्मेलन आयोजना गरिएको एनआरएनएले जनाएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनको पहिलो र दोस्रो दिन विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार एवं सरोकारवालासहितको विशेष सत्र आयोजना भएका छन् ।

उक्त सत्रहरूमा विषय विज्ञहरूको उपस्थितिमा छलफलहरू भए । गैरआवासीय नेपालीहरूले लामो समयदेखि उठाउँदै आएको नेपाली नागरिकता प्राप्तिको माग सरकारले पूरा गरिदिएको छ । मंगलबारबाट गैरआवासीय नेपालीहरूलाई नागरिकता दिन सुरु भएको हो । विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे भने समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय