संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउनुुहने भएको छ । यसअघि असोज २६ गते आउने भनिएपनि अन्र्तराष्ट्रिय राजनीति परिस्थितिको फेरबदलको कारण गुटेरेसको नेपाल आउने कार्यक्रम स्थगित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा गुटेरेस चार दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँनेपाल आउने तय भएपनि उहाँको उपस्थितिमा हुने कार्यक्रमहरु भने टुंगो लगाउन बाँकी छ। परराष्ट्र मन्त्रालयले कार्यतालिका तय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो। स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको हो। युएन महासभाको क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निमन्त्रणालाई स्वीकारेर गुटेरस नेपाल आउन लाग्नुभएको हो । प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा अध्यक्ष मुलुकको हैसियतमा विषय राख्नुभएको थियो ।
गुटेरेसले यीनै विषयमा नेपालका सरोकारवाला पक्षहरूसँग छलफल गर्ने जनाइएको छ। यस्तै उहाँको उपस्थितीमा जलवायु परिवर्तनका कारण देखिएका असर बारे छलफल हुने छ भने उहाँलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने छ। गुटरेसले नेपालको संघीय संसद र संसदीय समितिलाई संवोधन गर्ने संभावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
