अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

वर्तमान गठबन्धनले पूर्ण कार्यकाल राष्ट्र र जनताको पक्षमा काम गर्छ – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असोज २८ गते ५:३९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी, जनमतलगायतका राजनीतिक दलहरूको सत्तारुढ गठबन्धनले संसद्को पूर्ण कार्यकाल कायम रहने बताउनुभएको छ ।चितवनमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले  केही दलहरूले गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको तर त्यो सफल नहुने बताउनुभयो । कांग्रेस, माओवादीसहितको गठबन्धन पूर्ण कार्यकाल चल्ने प्रधानमन्त्रीको दावी थियो ।

”एकथरी मान्छेहरू छटपटिएका छन् । उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने, के गरी यो गठबन्धन उल्ट्याउने, यो गठबन्धन यसरी नै सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, अनि देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने, भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो । यसबाट अब कहिल्यै पनि सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरीहरू निकै विक्षिप्त भएको पनि तपाईंहरूले महसुस गर्नुभएको होला,”उहाँले भन्नुभयो,”अब यो गठबन्धन पूर्ण कार्यकाल यहिँ स्प्रिटमा राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु ”।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको रूपमा प्रधानमन्त्री प्रचण्डले अर्थ्याउनुभएको छ । सरकारले राम्रो काम गरिरहेको कुरा सहन नसकेर गठबन्धन फुटाउन खोजेको दाबी उहाको थियो ।”अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरूले पनि देख्नुभयो होला यहि गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत ती कामहरू थिए”, प्रधानमन्त्रीले भन्नुभयो । गठबन्धन जोगाउन कांग्रेस र माओवादी केन्द्र एकताबद्ध रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय