हमासले इजरायलमाथि आक्रमण गरेर युद्ध सुरू गरेसँगै इजरायलले हमासतर्फ व्यापक हवाई आक्रमण जारी राखेको छ । गाजापट्टी लक्षित हवाई हमलामा हमासका अर्थमन्त्री सहित अन्य एक पोलिटब्युरो सदस्य मारिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका अर्थमन्त्री अबु शामाला मारिएको जानकारी गराउनुभएको हो ।हमलामा प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का अन्य एकजना पोलिटब्युरो सदस्य पनि मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ । इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र हमासको वरिष्ठ योजनाकारका रूपमा उल्लेख गरेको छ ।
इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी इजरायलमा ९ सय बढीको मृत्यु भइसकेको छ भने ३ हजार बढी घाइते भएका छन् । यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ सय बढी पुगेको छ भने घाइते हुनेको सख्यया ४ हजार नाघेको छ ।
इजरायलले हमासले बन्धक बनाएकाहरुको तत्काल रिहा गर्न गरेको मागलाई अस्वीकार गरेको छ । हमासले युद्धकाबीच १ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाएको जनाइएको छ । यसैबीच इजरायलको अश्केलेन शहरमा हमासका लडाकु छिरेको आशंकामा उच्च सतर्कता अपनाइएको छ ।हमासका केही लडाकु अश्केलेन शहरमा प्रवेश गरेको आशंकामा इजरायलले सुरक्षा सतर्कता बढाएको हो । साथै उसले सिमावर्ती शहरका वासिन्दालाई घरभित्र सुरक्षित रुपमा बस्न आग्रह समेत गरेको छ । पछिल्लो समय लेबनानको हिजबुल्लाह लडाकु तथा सिरीयामा रहेका इजरायल विरोधी समुहले पनि सिमावर्ती क्षेत्रबाट इजरायली भूमिमा आक्रमण थालेका छन् ।