संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसदको दुवै सदनलाई सम्बोधन गनुृहुने भएको छ । यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउन लाग्नुभएका महासचिव गुटरेशले असोज २७ गते शनिवार संयुक्त सदनलाई सम्बोधन गर्नेगरी कार्यक्रम बनाइएको हो । सरकारले आन्तरिक रूपमा यसबारे तयारी गरे पनि भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको छैन भने यसबारे संसद सचिवालयलाई औपचारिक पत्र पनि पठाइसकेको छैन ।
सत्ता गठबन्धन दल माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले महासचिव गुटरेशले असोज २७ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी रहेको बताउनुभयो । यता संघीय संसदका प्रवक्ता एकराम गिरीले संयुक्त राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्ने भन्ने कुरा आफूले पनि अनौपचारिक रूपमा सुनेको तर सचिवालयलाई सरकारका तर्फबाट औपचारिक पत्र भने अहिलेसम्म प्राप्त नभएको बताउनुभयो ।
केही साताअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुभएका प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेश नेपाल भ्रमणमा आउन लाग्नुभएको हो। यद्यपि इजरायल र प्यालेष्टाइनबीचको युद्ध थप खराब अवस्थामा पुगेमा उहाँको भ्रमण रद्द हुने सम्भावनापनि उक्तिकै रहेको सरकारी अधिकारीहरू बताउँछन् । उहाँको पूर्वनिर्धारित भ्रमण कार्यक्रम परिवर्तन नभए पोखरा, लुम्बिनी लगायतका क्षेत्रमा पनि महासचिव गुटरेशले भ्रमण गर्ने कार्यक्रम छ ।
