सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । व्यक्ति हत्याजस्तो अपराधमा संलग्नलाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपालीको मन रोएको उहाँको भनाइ थियो ।आज आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महँगी नियन्त्रण, विकास खर्च, देशको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘सङ्घीयतालाई कमजोर बनाउने गतिविधि अहिले पनि भइरहेकाे छ । व्यक्ति हत्यामा संलग्नलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौँ । अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिइरहेका छैनौँ । विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यति हुन सकिरहेकाे छैन । महँगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौँ । यस्ता खालको कुराहरूमा विशेष ध्यान पुर्याउन जरुरी छ ।’ सांसद पाण्डेले विद्यालय शिक्षा विधेयकलाई पूर्णता दिने र देशमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने काममा सिँगो संसद् एक हुनुपर्ने बताउनुभयो ।
