अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

अहिले प्रचण्डको विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन: माधव नेपाल

बिआरटीनेपाल २०८० असोज १९ गते ६:४४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताउनुभएको छ । समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’

नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि पुरानो व्यवस्था फर्काउने खतरनाक योजना बनाइरहेका छन् । त्यसलाई हामीले जोगाउनुपर्नेछ । धर्मको नाममा अनेक खालका कुरा आइरहेका छन् । त्यसबारे सबै होसियार हुनुपर्छ ।’ नेपालले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा औंला ठड्याउनेसमेत बताउनुभयो। पार्टी सदन र सडकको मोर्चामा क्रियाशील भएर अघि बढ्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय