राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशमा पछिल्लो समय देखिएका धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बुधवार बसेकाे बैठकपछि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी रामकाजी थापाले प्रेस विज्ञप्ति निकालेर देशमा भएका पछिल्ला गतिविधिबारे छलफल भएको जानकारी गराउनुभएको हो ।
बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गर्नुका साथै राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको पनि विज्ञप्तिमा उल्लेख छ । बैठकमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डाक्टर प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्माको उपस्थिति थियो ।
