अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 15:49

संक्रमणकालीन न्यायलाई प्रचण्डको योजनाअनुसार अघि बढ्न नदिने एमाले अध्यक्ष ओलीको संकेत

बिआरटीनेपाल २०८० असोज १६ गते ७:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल एमालेले संक्रमणकालीन न्यायलाई सत्ता गठबन्धनले सोचेअनुसार अघि बढाउन भूमिका नखेल्ने संकेत दिएको छ। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्नुभएका विपक्षी दलका नेता केपी शर्मा ओलीले आफूले पटकपटक शान्ति प्रक्रियाका काम टुंग्याउन चाहे पनि त्यसको प्रमुख पक्ष माओवादीले नचाहेको आरोप लगाएउनुभयो । हालै अमेरिका र चीनको भ्रमण गरेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै देशसँग संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा समर्थन खोज्नुभएको थियो । विशेष गरी अमेरिकी र संयुक्त राष्ट्रसंघले समर्थन रहेको अवस्थामा यसलाई टुंग्याउन सहज हुने बुझेर उनीहरुबाट सहयोगको आवश्वासन पाएर फर्किनुभएका प्रधानमन्त्री प्रचण्डलाई एमालेले भने सोचेअनुसार अघि बढाउन तयार नहुने संकेत गरेको छ।

गत वर्ष द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनालाई वर्गिकरण गरी घटनामा संलग्नलाई माफी दिने गरी सत्ता पक्षले गरेको प्रस्ताव एमालेकै विमतिका कारण रोकिएको थियो। सरकारले यो वर्ष पनि उक्त विधेयकलाई जस्ताको त्यस्तै संसदमा ल्याएको छ। कानुन न्याय तथा मानव अधिकार समितिले उपसमिति नै बनाएर विधेयकमाथि सहमति जुटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन। प्राविधिक विषयमा कुरा मिले पनि गत वर्ष जस्तै घटनालाई ‘मानव अधिकार उल्लंघन’ र ‘गम्भीर मानव अधिकार उल्लंघन’मा के कस्ता घटनालाई पार्ने भन्ने विषयमा कुरा मिलेको छैन। मंगलबार ओलीले आफू शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन नेकपा कालदेखि नै तयार भए पनि प्रचण्ड बाधक बनेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपाको सरकार उहाँ शान्ति प्रक्रियाको काम सक्न मैले कोसिस गरेँ। तर मेरै छेउमा बस्नुभएका उहाँ तयार हुनु भएन। युद्धका घाउ, खाटा पूरा गर्न उहाँको चाहना देखिएन।’

उहाँले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय आपत्तिजनक रहेको उल्लेख गर्दै फिर्ता लिन माग गर्नुभयो । ‘हिंसा सुरु गरेको दिन पनि बिदा? शान्तिको कुरालाई हिंसाले लपेटिरहने? संक्रमणकाली न्यायलाई निष्कर्षमा पुर्याउन माओवादी नै बाधक रहेको आरोप लगाउँदै ओलीले अगाडि भन्नुभयो, ‘शान्ति प्रक्रिया किन चाहियोरु पीडितको घाउमा नुनचुक लगाएर शान्ति हुन्छरु बिदा दिने निर्णय मन्त्रिपरिषदको अर्को बैठकबाट फिर्ता लिनुहोस्। नलिए शान्ति प्रक्रियालाई मानेको देखिँदैन। यसलाई ट्याक्टिकल रुपमा प्रयोग मात्रै गरेको बुझिन्छ।’

ओलीले कांग्रेसका कार्यकर्ता माओवादीबाट मारिँदा समेत माओवादीले जे जे भन्छ त्यहीँ मानेर हिँडेको भन्दै व्यङ्य गर्नुभयो। आफूले हातले मात्रै नभई खुट्टाले समेत सहीछाप गरिदिन्छु भन्दा पनि माओवादी र कांग्रेस मिलेर आउन नसकेको ओलीको भनाइ थियो। विस्तृत शान्ति सम्झौतामा शान्ति प्रक्रियाको काम ६ महिनाभित्र टुंग्याउने भने पनि १७ वर्ष बितिसक्दासमेत जिवितै छ। माओवादीले गरेको दश वर्षे सशस्त्र द्वन्द्वसँग जोडिएका घटनाका दोषीमाथि कारबाही र निर्दोषलाई न्याय कसरी प्रदान गर्ने भन्ने टुंगो अझै पनि लागिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू