मणिपाल शिक्षण अस्पताल तोडफोड चिकित्सकमाथि हातपात गर्ने ७ जना पक्राउ परेका छन् । अस्पतालमा तोडफोड र डाक्टरमाथि हातपातमा संलग्न भएको आरोपमा सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताउनुभएको छ ।
कास्की प्रहरी प्रमुख थापाका अनुसार अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका थिए । चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङलाई प्रहरीले सोमबार नै पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
