अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

फेवातालमा बनेको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्च अदालतको आदेश

बिआरटीनेपाल २०८० असोज १२ गते ७:०४ मा प्रकाशित

सर्वोच्च अदालतले पर्यटन व्यवसायी कर्ण शाक्यको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ भत्काउन आदेश दिएको छ।रिसोर्टले चर्चेको जग्गा सार्वजनिक र फेवातालको मापदण्डभित्र रहेको ठहर गर्दै ६ महिनाभित्र फेवातालको जमिनभित्रका सबै संरचना हटाउन अदालतले आदेश दिएको हो। आदेशसँगै अब वाटर फ्रन्ट रिसोर्ट भत्काएर उक्त जग्ग्गा हरियाली क्षेत्र वा बगैंचाको रूपमा बाहेक भौतिक संरचना बनाउन नपाइने भएको छ। शाक्यले सरकारी अनुमति लिएर आफ्नै जग्गामा रिसोर्ट बनाएको दाबी गर्दै आएका थिए। शाक्यको उक्त दाबी अदालतले अस्वीकार गरेको छ।

आदेशमा भनिएको छ– विपक्षी पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिले निर्माण गरेको संरचनाको अधिकांश भाग फेवातालको हाई फ्लड बिन्दुबाट ६५ मिटरभित्र परेको देखिएको, होटल तथा भवन निर्माण गर्दा कानून बमोजिम स्वीकृत प्राप्त भएको नदेखिएको र सार्वजनिक, पर्ति जग्गामा समेत रिसोर्टको संरचना खडा भएको देखिँदा फेवातालको दीर्घकालीन स्वच्छता, सुन्दरता र संरक्षणका लागि उक्त अनधिकृत–पमा खडा भएको सम्पूर्ण संरचनासमेत हटाउनू।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो। रिसोर्टले फेवाताल मिचेको जिकिर गर्दै प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सम्पूर्ण सरकारी निकाय, आटर फ्रन्ट रिसोर्ट र रिसोर्ट सञ्चालक शाक्यविरूद्ध मुद्दा परेको थियो । मुद्दाको फैसला असार ४ गते भए पनि पूर्ण पाठ असोज ९ गते सार्वजनिक भएको हो ।

अदालतले फैसला दिएको भोलिपल्ट असार ५ गते शाक्यले सामाजिक सजालमार्फत आफूले वैधानिक रूपमा रिसोर्ट चलाएको दाबी गरेका थिए। रिसोर्टको संरचना भएको सबै जमिन आफ्नै रहेको, फेवातालको मापदण्ड ६५ मिटरभन्दा पर रहेको, रिसोर्टबाट निस्कने पानी शुद्धीकरण गरेको, सरकारबाट अनुमति लिएको लगायत दाबी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय