नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्युँताउन अब सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा बुधबार प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको बताउनुभयो ।
‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन। नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन्,’ ओलीले भन्नुभयो । उहाँले कम्युनिष्ट हुँ भन्नेहरू एमालेमा आउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले प्रदेश अधिवेशन सकेसम्म सहमतिसाथ नेतृत्व चुन्न आग्रह गर्नुभयो । सहमति नभए चुनावी प्रतिस्पर्धा पनि हुने उल्लेख गर्दै उहाँले तर अधिवेशन सकिएपछि जित र हारतिरभन्दा पनि पार्टीका काममा लाग्नुपर्ने बताउनुभयो ।
ओलीले अहिले एमालेमाथि घेराबन्दी भइरहेको भएपनि चुनौती सामना गरेर अघि बढ्ने बताउनुभयो । ‘विदेशीको इसारामा चल्नेहरूले अहिले सरकार चलाइरहेका छन्,’ ओलीको आरोप छ, ‘एमाले राजनीतिक नेतृत्व मात्र होइन विकास र समृद्धिको पनि अगुवाइ गर्न सक्ने पार्टी हो।’
