अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 07:25

पाकिस्तानी राजदूतावासद्वारा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीचको सम्बन्धबारे गोष्ठीको आयोजना

बिआरटीनेपाल २०८० असोज ८ गते ६:३२ मा प्रकाशित

नेपाल स्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानको बौद्ध सम्पदा र नेपालसँगको ऐतिहासिक सम्बन्धहरूबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा एक गोष्ठीको आयोजना गरेको छ । “गान्धाराः अनवाइन्डिङ ए हिस्ट्री ट्रेजर ट्रभ“ शीर्षकको सो गोष्ठी पाकिस्तानको पञ्जाब र केपीके प्रान्तको मैदानी र उपत्यकामा देखिएका प्राचीन गान्धारा सभ्यताको संरचना र अवशेषहरूको रूपमा रहेका ऐतिहासिक बिषयहरुको अवस्था, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक स्मारकहरूका बारेमा जानकारी लिन खोज्नेलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको पाकिस्तानी दुतावासले जनाएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, बुद्धिजीवी, बौद्ध भिक्षु तथा विद्वानहरु, टुर अपरेटरहरु र नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ स्मरण गर्दै बुद्ध सम्पदाको क्षेत्रमा पाकिस्तानको सहयोग र चासोको प्रशंसा गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक बौद्ध सम्बन्धको स्मरण गर्दै कार्यक्रमको उद्देश्य गान्धारामा रहेको सम्भाव्यतालाई जानकारी गराउनु रहेको बताउनु भयो । उहाँले नेपाल र पाकिस्तानबीच बौद्ध पर्यटकीय मार्गको विकासका लागि चासो मात्र नभई छलफलका साथै व्यवहारिक विकल्प खोज्न पनि कार्यक्रमबाट प्रयास गरिएको उल्लेख गर्नुभयो । कार्यक्रमका अन्य वक्ताहरुले गान्धारा सभ्यता र नेपाली संस्कृतिबीचको सम्बन्धबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू