प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताउनुभएको छ । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उहाँको भनाई थियो ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
उहाँले शिक्षामा लगानी गर्ने कुरा बार्षिक रुपमा घट्दै जानु बिडम्वनाको विषयमा भएको समेत स्पष्ट पार्नुभयो ।सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको सुभारम्भ गर्न पनि सरकारलाई सचेत गराउनुभयो । सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकहरुको संलग्नतामा पनि जोड दिनुपर्ने बताउनुभयो ।
