अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 07:51

‘विजयका छानिएका कथा’को विश्लेषण

ठाकुर शर्मा भण्डारी २०८० असोज ३ गते २१:२२ मा प्रकाशित

१. विषय प्रवेश
कथा जीवनको एउटा पाटो हो । सामाजिक धरातलमा यसलाई छोटो–मीठो तरिकाबाट कथ्न सकिन्छ । कथाको सिलसिला पहिलेदेखि चल्दै आएको हो र पछि लेखनको रूपमा विकास भएको सन्दर्भलाई बिर्सन सकिँदैन । जीवनका विविध विषयलाई लिएर कथा लेखन हुन्छ । नेपाली साहित्यका विविध विधामा कथाले विस्तृत क्षेत्र ओगटेको छ । पहिले लेखिएका इतिहास, पुराणादि पनि कथा नै हुन्, काव्य, महाकाव्य पनि कथाका स्वरूप हुन् । आदर्शमय जीवनको रूपमा आएको रामकथा रामायण, सामाजिक विविधतालाई ओगटेको महाभारत कथालाई लिन सकिन्छ । तिनै विषयवस्तुका आधारमा अनेकौँ ग्रन्थहरू निर्माण भएका छन् साहित्यिक जगत्मा । नेपाली साहित्यमा पनि कथाविधाले धेरै ठुलो स्थान ओगटेको छ । प्रभावपूर्ण शैलीको लोककथा वा आधुनिक कथा होस् समयसापेक्ष रूपमा अगाडि बढेको छ । यसै क्रममा नेपाली साहित्यका विविध विधामा कलम चलाउने र अग्रस्थानमा नाम लिइने नाम हो – विजय चालिसे ।

साहित्यकार विजय चालिसेको कथालेखनयात्राले पनि नेपाली साहित्यको क्षेत्रमा विजय पाएको छ । राष्ट्रका एक सम्मानित एवं प्रतिष्ठित व्यक्तित्वको रूपमा ख्याति पाएका विजय चालिसेको लेखनी नेपाली साहित्यको सन्दर्भमा अत्यन्त प्रभावशाली रहेको छ । उनको कलम बाल साहित्य, कथा, उपन्यास, नियात्रा–निबन्धादि विधामा निरन्तर अगाडि बढेको छ ।

२. कथाकारको परिचय
नेपाली साहित्यिक क्षेत्रका प्रसिद्ध आख्यानकार रमेश विकल र माता सुशीला चालिसेका ज्येष्ठ सुपुत्र विजयको जन्म २००८ असार २२ गते, आरुवारि काठमाडौँमा भएको हो । शिक्षामा एमए (नेपाली) बिए, बिएड डिप्लोमा इन् एडभान्स जर्नालिज्म (लन्डन) अध्ययन रहेको छ ।

विजय चालिसेका हालसम्म प्रकाशित साहित्यिक कृतिहरूमा – होटेल राँकीमा हत्या (२०३१) अनि कुइरो फाट्छ (२०३६) दुई उपन्यास, त्रिविध (संयुक्त, २०४४), प्रयोग÷प्रत्यारोपण (२०४७), भग्न आस्थाको खण्डहर (२०५६), अग्नि चक्र (२०६२), विज्ञानको कैदी (२०७१) र खोसिएको सपना (२०७१) कथासङ्ग्रहहरू रहेका छन् भने डोटेली लोकसंस्कृति र साहित्य (२०३९), अप्रिलको बेलायत (नियात्रा, २०४५), मनका तुलीकामा स्मृतिका बिम्बहरू (२०६३), ओह..नेपारु.. (२०७३), मरुभूमिको फुल (२०७७), सर्पदंशित मेरो वर्तमान (२०७७), परिशीलन (२०७७) र जीवनका वक्र रेखा (२०७८) आदि संस्कृति/नियात्रा/आत्मसंस्मरण आदि अनेकौँ करिब साढे चार दर्जन रहेका छन् ।

यसै गरी समाचार लेखन तथा सम्पादन (२०४५), आम सञ्चारका विविध पक्ष (२०५७), समाचार सङ्कलन तथा सम्पादन (२०६५), आमसञ्चार, द्वन्द्व र आतङ्कवाद (२०६०),: Media and Culture, 2007 र आमसञ्चारका सिद्धान्तहरू (२०६४) गरी छ वटा आमसञ्चार तथा पत्रकारितासम्बन्धी पुस्तकहरू प्रकाशित रहेका छन् । विजय चालिसेको साहित्यिक र सामाजिक गतिविधिको सम्बन्धमा पनि म एक बहु आयामिक व्यक्तित्वको रूपमा देख्दछु ।

सर्वप्रथम उहाँको साहित्य क्षेत्रमा गरेको योगदानको चर्चा गरौँ: २०३१ सालमा प्रकाशित ‘होटेल राँकीमा हत्या’ र २०३६ सालमा प्रकाशित ‘अनि कुइरो फाट्छ’ प्रकाशनमा आएपछि उहाँका कथासङ्ग्रह छ वटा, आमसञ्चार पत्रकारिता संस्कृति, यात्रा निबन्ध र विविध सात वटा कृतिहरू प्रकाशित भएका छन् भने उहाँ यसैमा सीमित हुनुहुन्न बाल साहित्यको क्षेत्रमा ठुलो काम गर्नुभएको छ । २०४३ सालबाट आजसम्म आइपुग्दा बाल साहित्यमा – दयालु राजकुमार (चित्र कथा, २०४३), सेवाका प्रतिमूर्ति: दयावीर कंसाकार (जीवनी, २०४५), हाम्रो वरिपरिको विज्ञान (बाल विज्ञान, २०५२), बादलका बुट्टाहरू (बानाकसङ्ग्रह, २०५२), हराएको मूर्ति (बाल कथासङ्ग्रह, २०५६), मङ्गल ग्रहमा विज्ञान (बाल विज्ञान उपन्यास, २०६०), मुस्ताङको गुफा (बाल उपन्यास, २०६१), विजय चालिसेका बालकथाहरू (२०६५), लाखर्केको जिद्दी (चित्र कथा, २०..), Nima Found Yeti, 2012 (अङ्ग्रेजी बाल कथासङ्ग्रह, २०६९), हाम्रो पृथ्वी (बाल विज्ञान, २०७२) र हेर्दाहेर्दै पुतली (बाल कथासङ्ग्रह, २०७३) आदि अनेक चित्र कथा, जीवनी, उपन्यास, कथा, नाटक आदिका साना/ठुला गरी चार दर्जनभन्दा बढी कृतिहरू प्रकाशनमा आइसकेका छन् ।

यसरी विभिन्न विधामा कलम चलाई अनेकौँ कृतिका स्रष्टा र अनेकौँ पुरस्कार/सम्मान प्राप्त गरेका यस्ता बहुप्रतिभावान् व्यक्तित्व विजय चालिसेको सन्दर्भ यस लेखनको उद्देश्य हो । ‘विजय चालिसेका छानिएका कथा’ तन्नेरी प्रकाशनले हालै प्रकाशनमा ल्याएको छ । वस्तुतः कथाकारका पहिले प्रकाशनमा आएका कथाहरूमा उत्कृष्ट कथाहरूको सँगालो हो । यसको विषयमा सामान्य चर्चा गर्ने प्रयास यस लेखनको उद्देश्य हो ।

नेपाली साहित्यमा विशिष्ट योगदान गरेका विजयजीलाई विभिन्न सङ्घ/संस्थाहरूले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । जस्तै: लोकसंस्कृति अध्ययन–लेखन विद्वद्वृत्ति (२०३८), साहित्यिक पत्रकार पुरस्कार, वैज्ञानिकहरूको जीवनी लेखन प्रतियोगितामा तृतीय पुरस्कार, नेपाल बाल साहित्य पुरस्कार (२०५६ र २०५९), साझा बाल साहित्य पुरस्कार (२०५७ र २०६७), देवकोटा शताब्दी सम्मान (२०६५), सुनकोसी साहित्य सम्मान (२०६६), विशिष्ट शिक्षा सेवी सम्मान (२०६६), राष्ट्रिय बाल साहित्य पुरस्कार (२०६६), हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार (२०६८), नई ईश्वर वल्लभ साहित्य पुरस्कार (२०७०), वैजयन्ती स्रष्टा सम्मान (२०७०), पुष्कर गौतम बाल साहित्य पुरस्कार (२०७०) आदि ।

३. ‘विजय चालिसेका छानिएका कथा’को सन्दर्भमा द्रष्टा–दृष्टिकोण
कृति सङ्कलन एवं सम्पादनकर्ता एवं द्रष्टा–व्यक्तित्व श्री पुरुषोत्तम सुवेदीको प्रकाशनको क्रममा ‘विजय चालिसेका छानिएका कथा’ शीर्षकमा यस्तो दृष्टिकोण रहेको छ– पहिलो कथा ‘आँसुमा झरेको जीवन’ पनि विजयको कथायात्राको विकासक्रम र कथाशिल्प, शैली, सामाजिक सरोकार र कथाप्रवृत्ति बुझ्न सहायक हुने ठान्दै यस सङ्कलनमा सङ्गृहीत रहेको छ । कथायात्राको झन्डै साठी वर्षको उपलब्धिलाई सङ्ग्रहमार्फत प्रस्तुत गर्ने कार्य आफैमा चुनौतीपूर्ण त छँदै छ, यी कथाहरू पाठकको इजलासमा प्रस्तुत हुँदा विजयका कथायात्राको विकासक्रम, बान्की, भाषाको बुनोट, शैली, मौलिकता, कथाचेत र परम्परा पाठकहरूले ठम्याउन सक्छन् भन्ने मेरो आग्रह रहेको छ ।

यसैगरी साहित्यकार श्री तेजप्रकाश श्रेष्ठको ‘शुभकामना’ शीर्षकमा भनिएको छ: उनका लेखनी सरल छन्, सरस छन् र प्राज्ञिक छन् । उनका कथाका भाषा, शैली, विषयचयन र चरित्रचित्रण प्रभावोत्पादक छन् भने कलपना र भावुकतामा उनी समकालीन उडान भर्न खप्पिस छन् । साहित्यिक इमान्दारी समकालीन यथार्थको चित्रण गर्न र कलात्मक संरचनाको निर्माण गर्न उनको कलम हर्दम तम्तयार देखिन्छ, यही त हो उनको खुबी ।

यस सन्दर्भमा स्वयं कथाकार विजय चालिसेको भनाइ मननीय रहेको छ: कथा मानवीय संवेग, आर्थिक, सामाजिक, सांस्कृतिक आदि विसङ्गतिबाट जन्मने संवेदना र सहअनुभूतिको सहजसंवेद्य अभिव्यक्ति हो जस्तो लाग्छ । कथा मलाई साहित्यमा सबैभन्दा मन पर्ने विधा हो ।ः
यसरी विजय चालिसेका २०३० सालमा जमरा पत्रिकामा प्रकाशित ‘आँसुमा झरेको जीवन’ शीर्षकको पहिलो कथादेखि वर्तमान समयसम्म आइपुग्दा यो पचास वर्षको अन्तरालमा धेरै विधाका साथ कथायात्रा पनि भएको छ । यस कृतिको विषयमा मात्र होइन कि विभिन्न सन्दर्भमा विजय चालिसेको लेखनलाई लिएर डा. दयाराम श्रेष्ठ, मोहनराज शर्मा, राजेन्द्र सुवेदी, डा. रामदयाल राकेश, अमर गिरीजस्ता विद्वान् स्रष्टा–द्रष्टा व्यक्तित्वहरूको भावना पनि अन्तिम पातोमा राखिएको छ, जसले विजय चालिसेको लेखनकलालाई र दृष्टिकोणलाई उजागर गर्दछन् । जीवनलाई गतिशील बनाई लेखनको निरन्तरतालाई अवलम्बन गर्ने कथाकार विजय चालिसे बहुमुखी प्रतिभा हुन् ।

४. ‘विजय चालिसेका छानिएका कथा’को सन्दर्भमा विहङ्गमावलोकन
नेपाली साहित्यको विविध विधामा स्रष्टा र अनेकौँ पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएका साहित्यकार विजय चालिसेद्वारा लिखित कथाहरू पुरुषोत्तम सुवेदीको सङ्कलन एवं सम्पादनमा हालै तन्नेरी प्रकाशनबाट प्रकाशित पुस्तक हो – ‘विजय चालिसेका छानिएका कथा’ कथासङ्ग्रह । ‘देवकन्या’ शीर्षकको कथाबाट प्रारम्भ भएको यस कथासङ्ग्रहभित्र ‘ऊ माधवी’सम्म पुग्दा त्रिचालिसवटा कथाहरू समाविष्ट गरिएको छ । ती कथाहरूको सामान्य जानकारी दिने प्रयास यहाँ भएको छ ।

(क) यस सङ्ग्रहमा राखिएका कथामा विजय चालिसेको‘ २०४४ सालमा प्रकाशित ‘विविध’ कथासङ्ग्रहबाट लिइएका तीनवटा कथा हुन् – देवकन्या, जन्मदिन र अनुत्तरित प्रश्न ।

‘देवकन्या’ शीर्षकको कथामा दुई वर्ष पहिला दुर्गम ठाउँ एउटा मन्दिरको पाटीमा आश्रय लिएकी देवकन्या अर्थात् देउकीलाई भेटेको र पछि त्यहाँ नदेख्दा उसको विषयमा जिज्ञासा भएको सन्दर्भ यसमा उठाइएको छ । म पात्रलाई सम्झना हुन्छ – पहिले एउटी कन्याले घरमा लगेको र उसको मानसिक पीडालाई देखेको प्रसङ्ग ल्याएर यो देउकी प्रथाले नेपालको पश्चिमी भेगमा रहेको देउकीहरूको मार्मिक कथा–व्यथालाई यसमा बुनिएको छ ।

‘जन्मदिन’ शीर्षकको कथा पनि समाजमा भएका गरीब बाल–बालिकालाई विषय बनाएर लेखिएको कथा हो । यस कथामा काम गर्ने गरिब व्यक्ति साने प्रमुख पात्र छ । ठूलाबडाको घरमा काम गर्ने व्यक्तिले त्यहाँको सानाबाबुको जन्मदिन भनेर गरेको व्यवस्थाबाट साने आकर्षित छ, उसको पनि काम धेरै छ । सबैले उसैलाई यो भएन त्यो भएन भन्छन् । पाहुनाहरू आउने हुनाले सरसफाइमा लागेको छ ऊ । बाबुसाहेवले माया गर्ने हुँदा उनको काम गर्न खुसी हुन्छ । पाहुना आउने वेला भयो भनेर सानीमैयाँ छट्पटिन्छिन् । पार्टी भनेको पनि नबुझ्ने सानेले यो रमझम र रमाइलो देखेर खुसी हुन्छ । उपहार दिएको–लिएको हेर्छ, भोज खाएको–नाच–गान गरेको हेर्छ ।

सम्झन्छ– आफु तीन महिनाको हुँदा बाबुको मृत्यु भएर सबै बाबुटोकुवा भन्छन्, जेठाबाले त्यहाँ ल्याएर राखिदिएका हुन् । गाउँ छोडेको पनि डेढ वर्ष भइसक्यो । त्यहाँको रमझले उसको मन कता–कता हरानुका साथै व्यथित देखिन्छ । सानेको पनि जन्मदिन आजै परेको छ । त्यस सन्दर्भमा भनिएको एउटा उदाहरण हेरौँ: मलिन रोमाञ्चक प्रकाश तीव्र, दुधिलो उज्यालोमा परिवर्तित हुन्छ । साने पनि त्यसै तीव्र, प्रकाशको घोचाइ र तीखो वाद्यझङ्कारले स्वप्नलोकबाट झसङ्गिन्छ । उसको अगाडि आप्mनो नभएर सानो बाबुसाहेवको जन्मदिनको पार्टीमा भेला भएका थकित अनुहारहरू ठोक्किन्छन्, अनि ऊ झल्याँस्स सम्झिन्छ – जेठको पच्चीस गते उसको आप्mनो जन्मदिन । ऊ मनमनै औँला गन्छ । जेठको पच्चीस गते त आजै हो । अगाडिको सपना र सानो बाबुसाहेवको जन्मदिन सँगसँगै सम्झन्छ र एकपटक निर्जीव हाँसो फिस्स आफैमा हाँसिदिन्छ – ‘जन्मदिन’ । (पृष्ठ १२)

अत्यन्त मार्मिक अभिव्यक्ति छ, गरिबको यथार्थ प्रस्तुति छ, जुन सानेको हाँसोले स्पष्ट पार्छ । यस्तै ‘अनुत्तरित प्रश्न’ शीर्षकको कथामा नेपालका पश्चिमी भेगमा रहेका जनताको दयनीय अवस्थालाई चित्रित गरिएको छ । एउटा बिरामी बालकको कुपोषणलाई कथानक बनाएर निरीह व्यक्तिको विषयमा केही उत्तर दिन नसकेको सन्दर्भ यहाँ उठाइएको छ ।

(ख) विजय चालिसेद्वारा लिखित ‘प्रयोग÷प्रत्यारोपण’ कथासङ्ग्रह २०४७ सालमा साझा प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो । पाँचवटा कथा यसबाट समाविष्ट गरिएका छन् ।

‘प्रयोग/प्रत्यारोपण’ शीर्षकको कथा वैज्ञानिक आधारलाई दृष्टिगत गरी लेखिएको कथा हो । यसमा मस्तिष्क प्रत्यारोपण गरेर सभ्य, असल मानिसहरूको निर्माण गर्न सफल भएको कुरा उठाइएको छ । सबै कुरा तयार गर्दै गुणग्राही जीनबाट आज्ञाकारी मानिस तयार गरी समाजको विसङ्गति हटाउने भन्ने धारणा यसरी व्यक्त भएको छ: चाँडै नै यस्ता शिक्षक, कर्मचारी र राजनीतिक कार्यकर्ताहरूको भीड तयार गर्नुहोस्, जसलाई आजका विरोधीसँग प्रतिस्थापन गर्न सकियोस् । अँ ! बरु अरू वैज्ञानिकहरूमै पनि हाम्रो समर्थनमा प्रयोग नगर्ने छन्, सहयोग नगर्ने छन् । तिनीहरूलाई पनि तपाईं आफुजस्तै समर्पित बनाउनुहोस् । (पृष्ठ १९)

यसरी आजको वैज्ञानिक युगको सन्दर्भ ल्याएर समाजमा राम्रो मानिस पाउन कठिन हुन लाग्यो, सभ्य, इमान्दार मानिसको खाँचो छ, यसलाई बिगार्ने भनेका शिक्षक, कर्मचारी र राजनीति गर्ने हुन् ती व्यक्ति सुधार गर्न सके सबै ठिक हुन्छ भन्ने धारणा पनि अप्रत्यक्ष रूपमा आएको देखिन्छ ।

‘एउटा आत्मस्वीकृति: मृत्यु शैयाबाट’ शीर्षकको कथामा बुढो लोग्नेसँगको जीवनयापनमा परेका समस्या बेहोर्दै आएकी एउटी नारीको जीवनकथा अन्त्यावस्थामा व्यक्त भएको छ । यौवनावस्थामा रविबाबुजस्ताको आकर्षण भए पनि क्यान्सरबाट पीडित हुँदा छाड्दै जाने पुरुषको प्रवृत्तिलाई राम्रोसँग व्यक्त भएको छ भने ‘एउटा अर्कै भविष्यको खोजीमा’ शीर्षकको कथामा पनि क्यान्सरग्रस्त महिला औषधी गरेर अस्पतालबाट घर फर्कन नचोको मनस्थितिलाई व्यक्त गरिएको छ । यस सन्दर्भमा भनिएको छ: डाक्टरले भोलि छुट्टी दिने भनी सुनाएका एक एक शब्द मेरो मानसमा तीखा विषालु नीलकाँढाले झै चस्स घोच्न थाल्छ । ओहो.. कसरी जानु त्यही घरमा ? कसरी सुरक्षित राख्नु आपूmलाई त्यस घरमा ? प्रायः एकान्त र अँध्यारो कुरेर बस्ने कालो बिरालोको प्रतिरूप चाल मारेर अघि बढ्ने घृणित हातका कुत्सित स्पर्शको कसरी सामना गर्ने ? कसरी ती घृणित उद्देश्य र कामना बोक्ने घिनलाग्दो दृष्टिको सधैँ सामना गर्ने ? हरक्षण सन्त्रास र आशङ्का पालेर कति बाँच्न सकिन्छ र ? (पृष्ठ २८)

‘सम्बन्ध’ शीर्षकको कथामा पहिले कलेजमा सँगसँगै पढेका रीता र सविनको प्रेमसम्बन्ध भएर अहिले सम्बन्धविच्छेद गर्ने कुराले अचम्भित भएको सन्दर्भ उठाइएको छ भने ‘म फेरि जन्मनेछु’ कथामा केशव र शिवको धेरै समयपछिको भेटले खुसी भए पनि केशवको दयनीय अवस्थाले आहत तुल्याएको प्रसङ्ग अत्यन्त मन छुने खालको कथ्यविषय बनेको छ ।

(ग) विजय चालिसेद्वारा लिखित ‘भग्न आस्थाको खण्डहर’ कथासङ्ग्रह २०५६ सालमा साङ्ग्रिला प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो । त्यसबाट नौवटा कथा यस सङ्ग्रहमा समाविष्ट गरिएका छन् ।

‘रगतको फुल’ शीर्षकको कथामा जनकपुर अञ्चलअन्तर्गत सिन्धुलीको कमलाखोंचको जङ्गलमा मङ्गलु र सर्दु जङ्गली जनावरसँग डराएर भाग्दा गोलीको सिकार हुनुपरेको मार्मिक र दुःखदायी घटनालाई वर्णन गरिएको छ । यो आन्दोलनको वेलामा आत्मरक्षाका लागि भागेका ती रगताम्य युवाहरूको निसहायको मर्मस्पर्शी पीडा पोखिएको छ । कथाकार भन्छन्: ऊ….आतङ्कवादी.भाग्यो, खबर्दार उम्किन नपाओस् । प्रहरीमध्ये कुनै एकको जङ्गलभरि प्रतिध्वनित भयो र त्यो आवाजलाई बन्दुक चलेको अर्को आवाजले उछिन्यो । त्यो आवाजसँगै एउटा चित्कार सर्दुको कानसम्म पुग्यो । (पृष्ठ ४४)

यस्तै ‘हर्के केही बुझ्दैन’ कथामा अफिसमा काम गर्ने हर्के पात्रको माध्यमबाट त्यहाँ के काम हुन्छ बुभ्mदैन र बुझे पनि नबुझे झै गर्छ । ऊ जलपानको कुरा बुझ्छ, । मितव्ययीको काममा भत्ता काटिन्छ तर सदस्यको खर्च देखेर चकित हुन्छ भन्ने विडम्बना व्यक्त छ भने ‘आगोको फिलुङ्गो’ कथामा जताततै आतङ्क भएको, परिवार निस्कन नपाएको, सबै अन्धकारमा भएको र जुलुस, आतङ्क छ । त्यस अवस्थामा घरको झ्याल खोल्दा गोली लागेर बच्चा मरेको दयनीय अवस्थाको वर्णन गरिएको छ कथामा । ‘धमिरो’ शीर्षकमा एक धमिरा नामकरण गरिएको दार्शनिकको कल्पना गरेर विज्ञानजगत्मा लागेका व्यक्तिहरूको विषयमा व्यङ्ग्य गरिएको छ । ‘भग्न आस्थाको खण्डहर’ कथामा रहस्यमय घरभित्र बन्दी बनाइएका सत्यराज, शान्तिप्रेमी, कर्तव्यमान, इमान्दारनिधि, निष्ठावान पाँचजनाको पात्र चयन गरेर गाउँमा भएको चर्चा, खोजाइ र नक्कली प्रवेश भएको रहस्यपूर्ण कथा हो र यो कथा व्यञ्जनामूलक, प्रभावकारी अत्यन्त सुन्दर कथा हो भने ‘रणनीति’ कथामा काजीको हुङ्कार, अरूको निरीहपन, रणनीतिको होचोपन, विखण्डनको रणनीतिलाई संवादात्मक रूपबाट व्यवस्थापनको यथार्थ चित्रण गरिएको छ । यस्तै ‘जोगी मामा’ शीर्षकको कथामा प्रत्येक वर्षको जेठ र मंसिरतिर फेरी लगाउन आउने खड्गे जोगी परम्परित विषयलाई कथ्य बनाएर पहिलेको कुरा सम्झिएको छ भने ‘सम्पूर्ण क्रान्ति’मा चिल्ला गाडीमा सिंहदरवार पसेको मानिसको क्रियाकलाप, छाँटकाँट, भेटघाट, आफुभन्दा तलका कर्मचारीलाई राख्ने रवाफ, जनताको पसिनाले अफिस र घरमा गर्ने सुख–सयल आदिलाई रिट्ठो नबिराई उच्चवर्ग र निम्नवर्गको भेददृष्टिलाई व्यक्त गरिएको छ ।

यस्तै ‘द्रौपदी नियति’ कथामा समाजमा नारीजीवनको दृष्टिकोण, उसको नियतिलाई राम्रोसँग अभिव्यक्त भएको छ । प्रमुख पात्र याङ्जेन एक नारी, उसको समाज बहुपतिप्रथाको छ । द्रौपदी नियत भोग्न बाध्य याङ्जेन सामाजिक परम्पराले देछ्याङपछि पेमाको घरमा आएपछि मानसिक तनावलाई कथाकारले यसरी व्यक्त गरेका छन्: समाजले मान्यता दिए पनि चारचार लोग्नेसँगको सहवासपछि म आफुलाई आजैको रूपमा हेर्न सकूँला र भोलिदेखि ? पैतृकसम्पत्तिमा विभाजन रोक्न समाजले आविष्कार गरेको यो उपाय नारी अस्मितामाथि आघातपूर्ण अतिक्रमण बन्न पुगेकोतर्फ किन ध्यान दिँदैन उसको समाज ? समाजको नियम र चलन पनि समय अनुसार परिवर्तन हुनुपर्ने होइन र ! हो, हिजो छोरीहरूको सङ्ख्या कम थियो होला र बहुपतिप्रथाको आवश्यकता थियो । (पृष्ठ ७७)

(घ) विजय चालिसेद्वारा लिखित ‘अग्निचक्र’ कथासङ्ग्रह २०६२ सालमा सृजनशील प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो । यसबाट सातवटा कथा समाविष्ट गरिएका छन् ।

‘झुमा’ कथामा लोमाथाङको उकालोमा भेटिएकी किशोरीसँग त्यहाँका सान्दर्भिक कुराहरू गर्दै गएको , झुमाको सरलता, उसको जीवन, लजमा पुगेपछि त्यहाँ देखेको व्यवहार र गुम्बाभित्र हुने व्यवहारको सम्बन्धमा दिएको सहज उत्तरले प्रभावित भएको सन्दर्भ आएको छ भने ‘मेनका’मा लोग्ने शहरिया वातावरणमा घुलमिल हुन खोजेर विभिन्न पार्टीमा गरेका नारीअस्मिताको सन्दर्भलाई व्यक्त गरिएको छ । उनीहरूको छाडापनबाट दिक्क भएकी मेनकाको कथा–व्यथा यसमा उतारिएको छ । मेनकाको पुरुषप्रतिको आक्रोश यसरी व्यक्त भएको छ ः आफैलाई सोध्नोस्, महत्त्वाकाङ्क्षाका लागि स्वास्नीलाई अर्काको अँगालोमा साटासाट गर्ने तपाईं लोग्ने हो कि लोग्नेको रूपमा स्वास्नीमान्छेको दलाल ! (पृष्ठ १०८)

‘काले गाइने’ शीर्षकमा गाइने घरमा आएर सारङ्गी रेटेपछि विगतको सम्झना भएको र लुखुरे दाइको गीतले मन रमाएको कुरा व्यक्त गरिइनुका साथै उसको जीवनलाई हेरिएको छ । यस्तै ‘भाडाको कोख’ शीर्षकमा समाजमा मानिसहरूको चित्तवृत्ति देखेर क्षुब्ध निर्मलाको र भाडामा गर्भ दिने महिला भनेर होच्याउने जीवनका उतार–चढावलाई व्यक्त गरिएको छ । यस्तै ‘चेतनाको बीज’ शीर्षकको कथामा गाउँको प्रधानपञ्चको उर्दी कटुवालले सुनाउँछ । उर्दी सुन्दा के भयो र भेला गर्नुप¥यो भन्ने हुन्छ जनतालाई । अर्को दिन बैठक बस्छ । दुई मुद्दाका कुरा हुन्छन् – मल्लोवाडामा तल्लो जातले पानी छोइदियो भन्ने र किस्ने रोकायाले पानी नचल्ने केटी ल्याएको । सबै पर।म्परित कुरा गर्छन् र भोज ख्वाउने र केही दण्ड सजाय गर्ने र पानी चलाउने कुरा गर्छन् भलाद्मीहरू । गरीबले कहाँबाट भोज खुवाउने ? युवाहरू विरोध गर्छन्, जातपात नमान्ने, अन्धविश्वास नगर्ने कुराको निर्णय हुन्छ । यही चेतनाको बीजको रूपमा आएको छ । यस सन्दर्भमा रोकायाले सुनाएको निर्णय यस्तोे छ: ऊ भीडमा तनक्क उभिन्छ र आप्mनो इस्पातजस्तै दरिलो निर्णय सुनाउँछ – स्वास्नी भनेर ल्याइसकेपछि भगीलाई अलपत्र पारेर छाड्नु मेरा लागि अपराध हो । त्यसैले उसलाई लिएर म बरु मुग्लान भासिन्छु । गाउँलेलाई भोज ख्वाउने सामथ्र्य पनि मेरो छैन । के नै छ र यो गाउँमा मेरो । मलाई जात फर्काउनु पनि छैन । (पृष्ठ १२८)

यो निर्णबाट धेरै खुसी हुन्छन्, भलाद्मी भनाउँदाको मन खिस्रिक्क हुन्छ क्यै गर्न सक्दैनन् भन्ने कुराबाट समाजमा चेतना आएको कुरालाई कथाले स्पष्ट पारेको छ र समाजमा गरीबलाई हेपेर गरिने थिचामिचोको व्यवहारलाई भेलामा नै वकालत गरेर चेतना जगाउने काम गरेको छ । ‘कम्लरी’ शीर्षकमा विदेशिया, हरिया, बुधवाजस्ता तराईका पात्रहरूको जनजीवनलाई अवलोकन गर्दै कम्लरीप्रथाको अत्यन्त दयनीय अवस्थालाई कथामा ढालेर अब छोरीहरूलाई कम्लरी नपठाउने दृढता व्यक्त गरिएको छ भने ‘सिर्जना’ कथामा रनेको छोडपत्रको कागजमा सही गराउने र विदेशीकेटीसँग बिहे गरी विदेश गएर पैसा कमाउने सोचको लोग्नेलाई त्याग्ने अठोट कथामा छ सिर्जनाको । यो पूर्वस्मृतिको रूपमा लेखिएको कथामा रनेसँगको प्रेम, विदेश गएर फर्केको र शहरमा डेरा गरी बसेको मार्मिक कुरा कथामा समेटिएको छ ।

(ङ) विजय चालिसेद्वारा लिखित ‘खोसिएको सपना’ कथासङ्ग्रह २०७१ सालमा अपूर्व प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो । यसबाट सातवटा कथा यस सङ्ग्रहमा समाविष्ट गरिएका छन् ।

‘सपना र भ्रान्ति’ शीर्षकको कथामा जनआन्दोलनमा घाइते भएर एक महिनापछि होसमा आएको बालकलाई देख्दा आमाको खुसी, आफन्तको शुभकामना, क्रान्तिकारीले देखेको पृथ्वीनारायण र भानुभक्तको एकीकरणको भावमा केही पनि नभएकोले आप्mनो नेतालाई पनि भेट गर्न मन नलागेको भावना कथामा व्यक्त भएको छ । यस्तै ‘यसरी जन्मिन्छ एउटा महान् प्रयोग’ कथामा साहित्यलेखन, पत्रकारको दिनचर्या र अरूलाई होच्याएर आफु महान् बन्ने प्रवृत्तिलाई अगाडि बढाउँदै भट्टीपसलको बिलको सन्दर्भ र साहित्यिक पुरस्कार मात्र होइन जुन पद पनि प्राप्त गर्न सक्ने क्षमताको अद्भुत शैलीले गाँजेको विकृति कथामा वर्णित छ भने ‘आमा सुसारे’ शीर्षकमा सन्तान विदेशिने र आमालाई केवल सुसारे बनाउने प्रवृत्तिलाई उजागर गरिएको छ । भीरबाट खसेर लोग्नेको मृत्यु हुँदा छोरा दुई वर्षको भएको र उसको पढाइमा ध्यान दिएर विदेश पठाएकी आमालाई एक वर्षसम्म चिठी नपठाए पनि पछि विदेश बोलाउनुको स्वार्थ सुसारे बनाउने रहेको मार्मिक स्थितिलाई देखाइएको छ कथामा । ‘खर्दारबाजे! कथामा खरदार बाजे बेवारिसे भएका र उनको कोही नभए पनि उनी मरेपछि वारिस भएर आएको कुरा कृष्णेमार्फत अफिसमा कुरा पुगेपछि लज्जित हुनुपरेको प्रसङ्ग कथामा वर्णित छ । यस्तै अर्को कथा ‘लिगलिगकोटे कुर्सीदौड!मा जेठा मुखियाको माध्यमबाट कुर्सीका लागि दौडधुप हुने गरेको र जनताको आकाङ्क्षा एकातिर छ, नेता केवल कुर्सीका लागि दौडिरहेका छन् भन्ने नेताको क्रियाकलापलाई लिएर तीव्र व्यङ्ग्य गरिएको छ । ‘साला सर !’ शीर्षकको कथामा सर्वज्ञमान र हिरण्यमानको क्याम्पमा कक्षा लिने कुरामा विवाद हुन्छ । हिरण्यमान मन्त्रीको साला हो, उसको चुरीफुरीका अगाडि क्याम्पसप्रमुख पनि निरीह छ भन्ने शैक्षिक क्षेत्रको यथार्थ र नेताले सबै ध्यस्त पारेको विषय उठाइएको छ भने ‘खोसिएको सपना’ कथामा सीताराम विदेश गएर पैसा कमाउने सपना बोकेको थियो तर नक्कली भीसाले पैसा पनि स्वाहा भयो, सपना चकनाचूर भयो र अहिले तर्कारी बेचेर जीवन यापन गरेको छ र विदेश गएको लोग्नेकी महिलाको चालामालालाई पनि उजागर गरिएको छ कथामा ।
(च) विजय चालिसेद्वारा लिखित ‘विज्ञानको कैदी’ कथासङ्ग्रह २०७१ सालमा ऐरावती प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो । यसबाट चारवटा कथा यस सङ्ग्रहमा समाविष्ट गरिएका छन् ।

‘अजेय मन’ शीर्षकको कथामा सुविधासम्पन्न पचपन्नतले भवनको माथि टैक्सीकोप्टर उतार्न सकिने ठाउँ छ । सप्टवेयर इन्जिनियर विकास शर्माको माध्यमबाट आजको युगको चमत्कारलाई र यान्त्रिकतालाई कथाले व्यक्त गरेको छ भने ‘रोवोरामको विद्रोह’, ‘विज्ञानको कैदी’ र ‘सायद प्रेम मरेको छैन’ शीर्षकका तीनै कथामा विकासको चरम सीमामा रोबोटको सन्दर्भ ल्याएर यन्त्रमानवबाट काम गराउँदाका समस्या, मायाप्रेममा भएको कमी, यो यान्त्रिक जीवनले गर्दा शान्तिको सम्झनाले सताउँदा अझ प्रेम मरेको छैन कि जस्तो लाग्ने जीवनको यथार्थ स्वरूपलाई कथाहरूमा प्रस्तुत गरिएको छ ।

विज्ञानले आज संसार धेरै अगाडि बढेको सन्दर्भमा भनिएको छ: चेतावनी पाएर पनि आविष्कारको मनबाट चिन्ता हट्दैन । आप्mना पुर्खाको जीवन इन्टरनेटबाट हेरेदेखि नै उसको मन आज निकै उद्विग्न भएको छ । घर घरजस्तो नलागेर बन्दीगृहको यातनाकक्षजस्तो लाग्न थालेको छ उसलाई । मानिस भनिने ऊ मानिसको सम्पर्क–संसर्गका लागि छट्पटिएर पनि त्यो सम्पर्क र संसर्ग पाउन सक्दैन । विज्ञान सिर्जित कृत्रिमतामा आकण्ठ ढाकिएर ऊ स्वयं विज्ञानयन्त्रको एउटा पुर्जाको कठपुतली बनेको छ । (पृष्ठ २११)

(छ) विजय चालिसेद्वारा लिखित आठवटा फुटकर कथाहरू पनि ‘विजय चालिसेका छानिएका कथा’ सङ्ग्रहमा समाविष्ट गरिएका छन् ।
‘आँसुमा रुझेको जीवन’ कथामा आमा बिरामी हुँदा सरोजको मन विचलित छ । डाक्टर ल्याउने कुरामा अब भो बाबु ! आफ्नो विचार गर् भन्दा रोएको मनमा अनेक तर्कना आउँछन् भने ‘कुहिरोमा रुमल्लिएको जिन्दगी’ शीर्षकको कथामा गिरीशले माग्ने केटालाई सम्झेर सुत्न सक्दैन । बाहिर अत्यन्त जाडो छ, त्यही माग्नेको चित्र अगाडि आउँछ । सहरको फुटपाथमा गुडुल्किएका धेरै अनुहार आउँछन् र गिरीश सुत्न खोज्छ तर झसङ्ग हुन्छ – एक दिन माग्ने केटालाई सोधेको थियो – तिम्रा बाबुआमा छैनन् ? उसले भन्यो – काकाकोमा बस्छु, सबैले काका भन्छन्, दिनभरि मागेको पैसा उनलाई दिनुपर्छ । गिरीशलाई लाग्छ –कस्तो व्यवसाय ? झन् चिन्तित हुन्छ । नाबालकहरूबाट कमाउने धन्दा गराएको सामाजिक विकृतिको विषयलाई यहाँ उठाइएको छ । त्यस सन्दर्भमा भनिएको छ: त्यो माग्ने केटाको कुरा सुनेपछि गिरीश आफैलाई आफैसँग घृणा लाग्न थालेको थियो । उसलाई लागेको थियो, यस्तो वातावरण सिर्जना गर्ने ऊ आफै पनि त एकजना हो । त्यो काका भनिएर मानिसको जिन्दगी र भविष्यमाथि खेलवाड गर्दै आफ्नो व्यवसाय चलाउने उसको समाजभित्रको एउटा व्यक्ति नै हो ! त्यसैले उसलाई लाग्छ ती केटाहरूलाई नमाग भन्ने कुनै अधिकार छैन । (पृष्ठ २२२)

२०३० साल साउन ६ गतेको गोरखापत्रमा प्रकाशित पहिलो कथाले सडक बाल–बालिकालाई विषयवस्तु बनाएर समाजमा रहेका ती बाल–बालिकालाई हेर्ने दायित्व हाम्रो होइन ? के सरकारको होइन ? भन्ने अनेक तरङ्ग मनमा उठाई सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ ।

‘हरिबाजे’मा खरिदारको जागिर खाएका हरिबाजेको घरको दयनीय स्थितिले कीर्तिबाबुसँग लिएको दुई हजार पैसा तिर्न नसक्दा उनी आउँदा पनि तर्सिन्छन् । उनी आउँदा केही भन्न सक्दैनन्, कतै यही आठ आनाको घरजग्गामा दाउ छ कि ! श्रीमती प्रेमकलासँग पनि केही भन्दैनन् भन्ने कुरा व्यक्त छ भने ‘आफ्नै छाँयामा’ कथामा महिलाको एक्लो जीवन बिताउन पनि यो समाजमा गाहारो पर्नेतर्फ सङ्केत गर्दै आफ्नै देवरसँग विद्रोह गर्न पुगेकी सीताको कथा छ । सबै पुरुषहरू रामका भाइ लक्ष्मणजस्ता हुँदैनन् भन्ने कुराको पुष्टि गर्छ कथाले । ‘कुमारी चाहना’ कथा कुमारी बन्ने नारीको सांस्कृतिक कथा–व्यथा हो । कुमारी अनीता चार वर्षको उमेरमा हनुमानढोका ल्याएर राखे । सुस्त सुस्त बाहिरको आकर्षणले घेर्नु स्वाभाविक थियो । कथान्तमा अनीताले भनेको सन्दर्भले स्पष्ट पार्छ ः के लुकेर हेर्छौ ? हिम्मत छ भने आऊ न बिहे गरौँ । (पृष्ठ २३९)

‘ता..ता..थैया. !’ कथामा अचानक तन्द्रामा बादलबाट एउटा आकृति आएको र क्रमशः चिनिँदै गएको सन्दर्भ ल्याउँदै ता ता थैया ! को सन्दर्भ आएको छ भने ‘एउटा विद्रोह बिउँझन्छ’मा द्वारेबाजेको घरमा काम गर्ने लुरेमा विगतको सम्झाइले क्रमशः मन जलेको छ, तर वीरे, सोमे र गोपेको अवस्था सम्झिन्छ । सानी आमाले छोराको, बाबु मरेको सम्झिएर भित्रै क्रोधलाई दबाउँछ तर विद्रोह जन्मिन्छ र भन्छ: के भन्छौ ए बाजे ! हात पसारेर खाएको छैनौँ । पाखुरा बजाएर खाएका हौँ । भएको एक टुक्रा जग्गासमेत तिमीले नै जालसाजी गरेर आफ्नो हात पार्यौ र पो यो अवस्था हुन पुग्यो । बरु भोकै मर्छु, तिमीजस्ता राक्षसको काम गरेर खान्न अब । सकेँ भने आपूmमाथि गरेको अत्याचारको बदलासमेत लिएर छाडौँला, के सोचेका छौ । सधैँ तिम्रै मात्र दिन बल्ला र ! (पृष्ठ २४८)

‘ऊ माधवी’ शीर्षकको कथा यस सङ्ग्रहको अन्तिम कथा हो । यसमा छिमेकी सामान्य परिवारकी लाटी दिदीकी सानी छोरी माधवी राम्री थिई । बाबु जँड्याहा भएर काम गरेको पैसा पनि स्वाहा पाथ्र्यो । घरमा सबैलाई दुःख दिन्थ्यो । ‘म’पात्रकी सँगै खेल्ने साथी माधवी हो । आमालाई रोग लागेर थला परेपछि माधवीको काँधमा घरको जिम्मेवारी आयो । माधवीलाई आमालाई भनेर केही सहयोग पनि गरेको सन्दर्भ पनि छ । माधवी भन्छे – आमाको साटो काम गर्छुभन्दा कोही पत्याउँदैनन् । उसको बाबु र माधवी अचानक हराए । केही समयपछि कसैले माधवीको बाबुलाई पैसासहित भट्टीमा देखेको कुरा पनि मानिसहरू गर्छन् । कसैले कतै माधवीलाई बेच्ने काम त गरेन पनि भने । पण्डितजीले कथामा सुनाएकी माधवी र आफ्नी माधवी उस्तै लागेको महसुस ‘म’पात्रलाई हुन्छ । यसरी विश्वामित्रको कथाको प्रसङ्ग ल्याएर कथालाई रोचक बनाइएको छ र यहाँ माधवी हराउनुमा विकृत अवस्थाको गरीब बाबुको स्थिति र समाजमा महिला बेचबिखनजस्तो कुकृत्य हुने गरेको जघन्य अपराधको कुरालाई पनि सङ्केत गरिएको छ ।

यस कथाको अन्तमा भनिएको छ: अहो ! कसरी जनावरसरह बेचिन्छन् माधवीहरू ! अहिले मेरी सखी माधवी उसैका बाबुद्वारा बेचिएको यो हल्ला सुनेपछि मेरा कानमा निकै वर्ष अगाडि पण्डितबाले सुनाएका माधवीको त्यही कथा गुन्जिरह्यो र मनमा पीडादायक प्रश्न उठ्यो – के त मेरी माधवीलाई पनि । (पृष्ठ १०८)

यसरी माधवी हराएको वातावरणले उब्जाएको यथार्थस्थितिलाई पुष्टि गर्न पौराणिक कथालाई पनि उदाहरणको रूपमा लिएर समाजको विकृतिलाई देखाउने काम कथाले गरेको छ । यी समस्त कथाहरूमा कथाकारको दृष्टिकोण, सामाजिक अनुभूतिलाई सरलताका साथ अभिव्यक्त गरिएको छ ।

‘विजय चालिसेका छानिएका कथा’ कथासङ्ग्रहमा राजनीतिक विकृतिका कुरा र सामाजिक विकृति–विसङ्गतिका कुरा आएका छन् भने नारीसमस्यालाई विशेष रूपमा उठाइएको छ । अजेय मन, राबोरामको विद्रोह, विज्ञानको कैदीजस्ता कथाले आधुनिक वैज्ञानिक विकासलाई सम्झाउँछन् । विदेश पलायन भएका आमाबाबुले छोराले बोलायो भनेर विदेश जाँदा पाएको सास्ती र सन्तानको सोचलाई कतिपय कथाले व्यक्त गरेका छन् । माओवादी द्वन्द्वकालीन अवस्थामा भएका कुरा होऊन् वा विभिन्न समयमा भएका आन्दोलनका कारणले जनताले दुःख पाएका मार्मिक अवस्था ओऊन्, पुरुषवर्गका कारण नारीले भोग्नुपरेका अवस्था होऊन् वा सांस्कृतिक विचलनका कुरा होऊन् राम्रोसँग कथाहरूमा व्यक्त भएका छन् ।

कथाकारको दृष्टिकोण समस्त कथाहरूमा स्पष्ट छ । जीवनका आरोहावरोहमा आफुले काम–कर्तव्यको वेलामा बाहिर जाँदा संस्कृति परम्परामा रहेका देउकी प्रथाजस्ता घृणित सन्दर्भहरूलाई स्पष्टसँग उत्खनन गरिएको छ कथाहरूमा ।

५. विषयान्तमा
कथाकथनको भाषाशैली सरल छ, सरलतामा गहनता छ, वर्तमान समयलाई समातेर विज्ञानको चेततर्फ उन्मुख गराउँदै सौन्दर्य पन यत्रतत्र पाइन्छ । रागात्मक अनुभूति र भावनात्मक संयोजन जीवनमा हाँसो र आँसुलाई अत्यन्त निकटबाट हेरेर लेखिएका छन् कथाहरू ।

यी कथाहरू भावनात्मक सम्बन्ध भएका छन्, अन्तर्चेतनासँग गाँसिएका पनि छन् । कथामा बाहिरी कुराको सन्दर्भका साथै अन्तर्मनका सन्दर्भहरू बढी रहेका छन् । आफैमा सुरुचिपूर्ण र प्रतीकात्मकतामा कतै कतै अभिव्यक्ति पनि पाइन्छ ।

अन्तमा, प्रत्यक्षतः समाजमा देखिने गरेका विकृत र विसङ्गत अवस्थालाई समेत व्याख्यानात्मक रूपमा प्रस्तुत गर्नु यस सङ्ग्रहको विशेषता हो । यस कथासङ्ग्रहका कथाहरूको शैलीगत रूपमा हेर्दा कथाहरू जटिल नभएर सरल छन्, कतै कतै कथालाई सिधै नभनेर पात्रको उकुसमकुसले बुझ्नुपरेको अवस्था पनि आउँछ सक्छ । त्यसका पनि आ–आफ्नै सीमा हुन्छन्, आ–आफ्नै व्यथा हुन्छन् । सामाजिक विषयवस्तु कथाका साझा कुरा हुन् । परिस्थितिले उब्जाएको मानसिक क्रियाकलाप घृणा, द्वेष, माया ममता आदि समष्टिगत रूपले मान्छेको चित्रण यी कथाहरूमा अङ्कित भएका छन् ।

जीवनको यथार्थ बोध गराउने कथासङ्ग्रह ‘विजय चालिसेका छानिएका कथा’का कथाकार सिर्जनशील व्यक्तित्व श्री विजय चालिसे कथाक्षमता स्पष्ट देखिन्छ । वस्तुविन्यासमा औत्सुक्यको र प्रस्तुतिमा मिठासको संयोजनले यी कथाहरू बढी आकर्षक बनेका छन् । सृजनाले मानसिक चेतनालाई जगाउने काम गरेका छन् । कवितात्मक भावनाद्वारा यो लेखनलाई टुङ्ग्याइएको छ ।
कथामा विजयी–भाव देखिने गर्छ चिन्तन
कथ्य जीवनको दृष्टि यथार्थमा छ मन्थन ।
आप्mनो संस्कृति–सौन्दर्य व्यावहारिक सारमा
समाजभित्रको चित्र राखियो कथ्य–धारणा ।१।

धेरै सुन्दर व्याख्यान भएको परिवेशमा
देवकन्या यहाँ भेट्छन् कथा बन्छ घुमाइमा ।
झुमा र द्रौपदीजस्ता नारीको वेदनातिर
ध्यानाकृष्ट भएको छ क्रान्ति–सिर्जन आखिर ।२।

अजेय मनका साथ कथामा पूर्ण–दृष्टि छ
जीवन्त–भावना मिल्छ चामत्कारिक भाव छ ।
कथाको कथ्यमा भेट्छु विजय–सृष्टि उन्नत
चेतनाबीज सौन्दर्य लेखनीमा छ विस्तृत ।३।

विश्वका गहना स्रष्टा वैश्विक धारणा पनि
सम्मान सर्वदा हुन्छ पूर्णतामा छ जीवनी ।
स्रष्टाको छ कथाभित्र विज्ञान–ज्ञान खुल्दछ
होस् रोबोराम विद्रोह विज्ञान प्रेमको फल ।४।

सम्पूर्ण क्रान्ति होस् चाहे भाडाको कोखका कुरा
शिक्षा–विकृति होस् यस्तो चल्दछन् व्यङ्ग्यका छुरा ।
चित्ताकर्षक भाषा छ व्याख्यानात्मक कथ्य छ
विजयी साधना खुल्छ भावनाको विकास छ ।५।

रुवाइ छ कथाभित्र चेतनाको भिजाइ छ
कुर्सीको दौडले गर्दा मानवीय दुखाइ छ ।
सारा संस्कृति–संस्कार हराउने बिझाइ छ
चैतन्य लेखनी सार विजयी–शब्द राग छ ।६।

————————-

२०८० आश्विन २ गते सोमवार । धुम्बाराही, काठमाडौँ ।