निर्णय गर्न सक्ने कुशल प्रशासक भएकैले होला आदेशनारायणले जुनसुकै समस्याको समाधान तुरुन्तै निकाल्थ्यो । उसलाई आफ्नो बुद्धि, विवेक, निर्णय, क्षमता प्रति गर्व थियो । उसको नाम सहरभरि चर्चित थियो ।
नयाँ कार्यालयमा गएकै दिन उसले सहयोगीलाई भन्यो–”झुत्रे झाम्रे, लन्जुफन्जुका विकल्प तयार गर्नुस् ! भनेजस्तो काम गर्न नसक्ने कर्मचारी को के काम ? डुबाउने नै यस्तैले हो” आदेशनारायणले सहयोगी कर्मबहादुरलाई आदेश दियो ।
कर्मबहादुरले पुरानो कर्मचारी निकाल्यो र सबै शाखा उपशाखामा वैकल्पिक छनौटद्वारा पूर्ति गर्यो । आदेशनारायण जहाँ जहाँ जान्थ्यो उथुल पुथुल नै गर्थ्यो ।कार्यालयको काम सकेर निक्लने क्रममा आदेशनारायण कार्यालयको भर्याङ्गमा अचानक चिप्लियो र लड्यो । घाइते आदेशनारायणलाई कर्मचारीहरूले नै अस्पताल पुगाएका थिए ।
तीन घण्टाको उपचार पछि आदेशनारायणको होस खुल्यो । ऊ जुरुक्क उठ्न खोज्यो तर उठ्न सकेन । उसले डक्टरलाई सोध्यो–“म किन उठ्न सक्दिन ?” डक्टरले भन्यो–“तपाईँको मेरुदण्डको हड्डी भाँचिएको छ । तपाई हिड्डुल गर्न र उभिन सक्नुहुन्न । तपाईलाई सन्चो हुन समय लाग्छ ।”
“समय लाग्छ ?”आदेशनारायणले डाक्टरलाई प्रश्न गर्यो । डाक्टरको उत्तर नआउँदै उसले फेरि भन्यो–“भोली कार्यालयको वार्षिक उत्सव ,अनि पर्सि श्रीमतीको क्यानडा फ्लाइट, निकपर्सी अर्को कार्यक्रम ,अर्को महिना अमेरिका भ्रमण सबै बर्वाद हुन्छ त डक्टर साप, जसरी पनि ठिक पार्नुपर्यो, सोच्नुस् न डाक्टर साप उपचारका कुनै विकल्प छन् कि ?”
डक्टरले उसको मुहारमा हेरेर मुसुक्क हाँस्दै भन्यो–“हेर्नुस् हाकिम साव सबै चिज वस्तु हुँदैनन् र सबैको विकल्प पनि हुँदैनन् । यदि विकल्प नै खोज्ने हो भने सूर्यको विकल्प के ? अक्सिजनको विकल्प के ? तपाईँको मुटुको विकल्प के ? पृथ्वीको विकल्प के ? अनि तपाईँको प्राणको विकल्प के ?” डक्टरका प्रश्न सुन्दा उसलाई आवाज सुने सुने जस्तो लाग्यो । उसले डक्टरलाई माक्स खोल्न अनुरोध गर्यो । डक्टरले माक्स खोली दिए । उसलाई उपचार गर्ने डाक्टर त वर्षौँ पहिला अयोग्य भन्दै निकालिएका उसकै पूर्व कर्मचारी थिए । आदेशनारायण डाक्टरको मुहार हेरेको हेरै भयो ।