प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भुमिका खेल्न तयार रहेको बताउनुभएको छ । बिहीबार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनिय रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नागरिकहरु भयरहीत रुपमा बस्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
