अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

भारतको संविधानबाट ‘इन्डिया’ शब्द हटाउन संसद्को विशेष सत्र आह्वान

बिआरटीनेपाल २०८० भदौ १९ गते ६:५५ मा प्रकाशित

भारतको संविधानबाट देशको नाम समेटिएको ‘इन्डिया’ शब्द हटाउने तयारीको चर्चा बढेको छ । भारतको संविधानको परिभाषामा देशको नाम ‘इन्डिया’ अर्थात् भारत रहेकोमा ‘इन्डिया’ शब्द हटाएर भारत मात्रै राख्ने सरकारको तयारीको चर्चा बढेको हो ।

भारत सरकारले देशको नामबाट ‘इन्डिया’ शब्द हटाउने प्रयोजनका लागि संविधान संशाेधन गर्न यही सेप्टेम्बर १८ देखि संसद्को विशेष सत्र आह्वान गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एकाथरीले ‘इन्डिया’ शब्द बेलायती उपनिवेशकाे अवशेष भन्दै हटाउनुपर्ने बताएका छन् । अर्कोथरीले देशको नाम परिवर्तन गर्नु उपयुक्त नहुने बताएका छन् ।

विशेषगरी विपक्षी गठबन्धन आबद्ध दलका नेताहरूले ‘इन्डिया’ शब्द हटाउने तयारीको विरोध गरेका हुन् । अर्को वर्ष हुने लोकसभा चुनावका लागि आफूहरूले गरेको गठबन्धनको नाम ‘इन्डिया’ रहेकोले सरकारले देशको नामबाटै ‘इन्डिया’ हटाएर ‘इन्डिया’ शब्दप्रति घृणा उत्पन्न गराउन चाहेको विपक्षीहरूको आरोप छ । विपक्षी गठबन्धनको नाम ‘इन्डियन नेशनल डेभलभमेन्टल इनक्लुसिभ अलायन्स’ अर्थात् छोटकरीमा ‘इन्डिया’ रहेको छ ।

केही दिनपछि हुन लागेको जी–२० देशको शिखर सम्मेलनका लागि राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजको निम्तोमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएपछि नामबारे चर्चा बढेको बीबीसी हिन्दीले जनाएको छ । निम्तोमा सात दशकदेखि चलिआएको ‘प्रेसिडेन्ट अफ इन्डिया’ लेख्ने चलन तोडिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू