अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

बिआरटीनेपाल २०८० भदौ १९ गते ६:५१ मा प्रकाशित

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जालमार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको हो । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनःसंरचनामा महत्वपूर्ण योगदान पुर्‍याउनेमा शर्माले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल र भारतका ऊर्जा सचिवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा द्विपक्षीय भेटवार्तापछि आयोजित दुई संयुक्त पत्रकार सम्मेलनमा समेत यस विषयमा जानकारी दिइएको थियो।

यो निर्णय लगत्तै नेपालको बिजुली भारतीय बजारमा सहज रुपमा लैजान बाटो खुलेको छ । नेपालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा भारतीय बजारमा बिजुली निर्यातका लागि आग्रह गर्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय