गुल्मीको मुसिकोट नगरपालिका ६ अन्र्तगत कुर्घाको एक विद्यालयमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते बनेका छन । आज दिउसो सवा तीन बजे स्थानीय कुर्घा निम्न माध्यमिक विद्यालयमा अचानक चट्याङ् लाग्दा विद्यार्थाी घाइते भएको विद्यालयका प्राधानाध्यापक मोति प्रसाद शर्माले जानकारी दिनु भयो ।चट्याङ्बाट घाइते हुनेहरुमा ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सृजना शर्मा, समीक्षा थापा, वुद्धिमाया नेपाली र कल्पना विक रहेका छन ।
घाइतेहरुमध्ये कक्षा ६ मा अध्यनरत ईसा घर्ती, झलका विक, अनुजा विक र कक्षा ८ मा अध्यनरत अनिशा विकको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।घाइते अन्य चार जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन ।
चट्याङ् पर्दा ३५/४० जना विद्यार्थीहरु एउटै कोठामा बसिरहेका थिए । पानी सिमसिम परिरहेको अवस्थमा अचानक चट्याङ् परेपछि कक्षा कोठाको पछिल्लो पंक्तिमा बसेका छात्राहरु पनि घाइते बनेको बताइएको छ । घाइते छात्राहरुमध्ये केहीको कपाल, टाउको र कम्मर माथिको भाग जलेको छ ।
