नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सञ्चालनमा ल्याएको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच udb.nepalpolice.gov.np वेबसाइटको उद्घाटन गर्नुभएको हो । यो वेबसाइट निर्माण भएसँगै यसलाई नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने उहाँले बताउनुभयो ।
वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने उहाको विश्वास थियो । नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातावरण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा वेवपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा.श्रीधर मरासैनीले वेवसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिनुभएको थियो । दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले २०७८ वैशाख २ गते निर्णय गरेको थियो।
त्यसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी दिइएको थियो।
