प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक राज्यव्यवस्थामा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको बताउनुभएको छ । उहाँले राज्यप्रति नागरिकले गर्ने गुनासा तत्काल सम्बोधन हुनुपर्ने पनि बताउनुभयो । जनताका असन्तुष्टि र गुनासो सम्बोधन तत्काल सम्बोधन गर्न नसकिए व्यवस्थाप्रति नै जनतामा निराशा छाउने पनि प्रधानमन्त्रीको भनाइ थियो ।प्रधानमन्त्री प्रचण्डले आइतबार सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारुको सेवालाई २४ सै घन्टा सञ्चालन गर्नका लागि तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको सुरुवाती कार्यक्रममा उक्त अभिव्यक्ति दिनुभएको हो। वर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा स्वाभाविक रूपमा रहेको उहाँको भनाइ थियो ।
”जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रबर्द्धनको कडीको रूपमा ुहेलो सरकारुलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवहरूसँगको बैठकमा मैले दिशानिर्देश गरेको थिए । यसैगरी संसद्मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
नागरिकले राख्ने गुनासो गम्भीरतापूर्वक सम्बोधन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भन्नुभयो,”जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ । गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ” । जनताको गुनासो सुनिएन भन्ने कुरा आएपछि हेलो सरकारुको सेवा विस्तार गरिएको प्रधानमन्त्रीले बताउनुभयो । सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने प्रधानमन्त्री प्रधानमन्त्रीको भनाइ थियो । सुशासनको प्रवर्द्धनका लागि सार्वजनिक निकायहरूबीच अन्तरक्रियात्मक संयन्त्रमार्फत प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
”सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरेपनि या सुशासनका कुरा गरेपनि यसले केही अर्थ राख्दैन”, उहाँले भन्नुभयो,”त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशित गर्दछु । हाम्रा लागि साना तथा महत्त्वपूर्ण नलाग्न सक्ने गुनासोहरू आम नागरिकका दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने गर्दछन् । गुनासा तथा जिज्ञासाहरू सबै महत्त्वपूर्ण नै हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिक सुझावहरू अमृत समान हुन्छन् ”।
प्रधानमन्त्री प्रचण्डले जनताको गुनासो सुन्ने संयन्त्र भएपनि काम गर्न नसकेको बताउनुभयो । ती संयन्त्रहरूको कार्यशैली परिवर्तन हुनुपर्ने भन्दै उहाँले सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
