अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

जनयुद्धको सपना पूरा भएको छैनः विप्लव

बिआरटीनेपाल २०८० भदौ १४ गते ४:२३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यो संसदीय व्यवस्था रहेसम्म मुलुकको विकास नहुने बताउनभएको छ । समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै उहाँले संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने बताउनुभयो । नेपाललाई यहाँसम्म पुर्‍याउने माओवादी हो। नेपाली जनताको त्याग र नेताहरूको योगादानले मुलुक परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ। यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ।’

प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिँजाइरहेको उहाँले बताउनुभयो । यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको विप्लवको भनाइ छ। ‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१ औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्त्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो,’ विप्लवले भन्नुभयो ।

सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उहाँले बताउनुभयो। ‘हामी जनयुद्धको बेलाको सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौं। तर अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन,’ उहाँले भन्नुभयो। विप्लवले अहिलेको मोर्चा सरकारमा को बस्नेरनबस्ने भन्ने कुरा नभएको र सफल क्रान्तिको मामिला भएको पनि बताउनुभयो । ‘आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको हो। आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन,’ उहाको भनाई थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारविरुद्ध लड्न साथ दिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय