त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले दोब्बरभन्दा बढीले स्नातक तहको शुल्कवृद्धि गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेपछि विद्यार्थीले विरोध गरेका हुन् । शुल्कवृद्धि फिर्ता लिन फिर्ताको मागसहित नेविसंघ पुल्चोक क्याम्पसका नेता सुलभ चापागाईं अनशन बसेका छन् । नेविसंघ केन्द्रीय समितिले उनको अनशनमा ऐक्यबद्धता जनाएको छ ।
ललितपुरको पुल्चोक, काठमाडौंको थापाथली, धरान, चितवन र पोखरामा आंगिक क्याम्पस छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार पत्रकार सम्मेलन गर्दै शुल्कवृद्धि फिर्ता लिन ३ दिने अल्टिमेटम दिनुभएको छ । त्यस अवधिभित्र संस्थानले शुल्कवृद्धि फिर्ता नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने शेर्पाले बताउनुभएको छ । ३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पु¥याएपछि विद्यार्थी संघसंगठनहरूले शुल्क वृद्धि फिर्ता गर्नुपर्ने मागसहित विरोध गरेका हुन् ।
पश्चिमाञ्चल क्याम्पस पोखरामा पनि नेविसंघलगायत विद्यार्थी संघसंगठनले शुल्कवृद्धि फिर्ता गर्नुपर्ने मागसहित प्रदर्शन गरेका छन् । शुल्कवृद्धि फिर्ताको माग गर्दै नेकपा एमालेनिकट अनेरास्ववियुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई भेटेर ज्ञापन पत्र बुझाइसकेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न अनेरास्ववियुले माग गरेको हो । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शिक्षा मन्त्री राईसँग शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। आफूहरूको माग कार्यान्वयन नभए थप आन्दोलन गर्ने उहाँको भनाइ छ । संस्थानले भने लामो समयपछि शुल्कवृद्धि गरिएको बताएको छ । २०५३ सालपछि संस्थानले अहिले शुल्कवृद्धि गरेको हो। शुल्कबारे छलफल गर्न सहायक डिन सुरज लामिछानेको नेतृत्वमा वार्ता टोलीसमेत गठन गरिएको छ ।
