पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहे जसरी पार्टी अगाडि बढ्न नसकेको स्वीकार्नुभएको छ । अध्यक्ष नेपालले मंगलबारदेखि शुरु भएको केन्द्रीय कमिटीको छैठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी लक्ष्य अनुसार अगाडि बढ्न नसक्दा नेता तथा कार्यकर्तामा निराशा उत्पन्न भएको समेत उल्लेख गर्नुभएको छ । ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन्’ अध्यक्ष नेपालले बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष नेपालले पार्टीमा बद्ख्वाइँ गर्ने अनुशासनहीन हुने र अराजक प्रवृति समेत देखिएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । ‘‘यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसके’ प्रतिवेदनमा भनिएको छ– त्यस्ता प्रवृतिका यदि कोही पार्टीमा छन् भने उनीहरुलाई त्यस्तो काम गर्ने छुट दिइने छैन । पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने, तर पूरा नगर्ने प्रवृत्ति, पार्टी सानो छ भन्ने लघुताभास, प्रत्यक्ष रुपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि लगायतका समस्या छ । अब निराशालाई चिर्ने, आशा र उत्साह जगाउने ठोस योजनाका साथ अघि बढ्नुपर्छ ।’
अध्यक्ष नेपालले अबको ५ महिनामा पार्टीको महाधिवेशन हुने जानकारी गराउँदै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रित हुन आव्हान गर्नुभएको छ ।
