अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 12:54

आफन्त

सुदीपभद्र खनाल २०८० भदौ २ गते १०:३७ मा प्रकाशित

साँच्चै लड्न परे लडेर रिपुको शेखी सबै झार्छु म
गाह्रो चढ्न परे अगम्य हिउँको त्यो शैलमा चढ्छु म
हाँक्नै पर्छ भने रकेट नभको हाँक्थे बनी चालक
आफ्नैबाट छ मार सह्य नहुने हे कृष्ण आऊ अब

वैरी तोड्न म सक्छु सक्तिन कसै आफ्नाहरू तोड्न म
धर्ती छोड्न म सक्छु सक्तिन कसै आफ्नाहरू छोड्न म
आफन्ती परिघात युक्त धरती छाती व्यथा ग्रस्त छ
आफ्नै को छ प्रहार सह्य नहुने गोपाल आऊ अब

पड्के यो पृथ्वी उडेर नभमा सक्थेँ बरु बच्न म
आगोले नभ ढाकिए सुरुङमा सक्थेँ बरु लुक्न म
पौडी तर्न परे बरु म तरुँला सातै वटा सिन्धु म
आफ्नैको दिनरात घात छ भने शम्भो बचाऊ अब

ढुङ्गो पिन्न परे म पिन्छु सजिलै नाघ्नेछु आकाश यो
च्याप्पै रोक्न परे बरु म सकुँला हावा सबै रोक्न यो
रोकिन्नन् निरुपाय किन्तु नमिठो आफन्त को घात छ
ब्रह्माको वर खेर जान्छ यसमा शम्भो बचाऊ अब

धर्तीमा हुल छन् विभीषण हरू थोरै छ सङ्कर्षण
माया ले मदले छ ग्रस्त दुनियाँ गर्छन् सके भक्षण
प्रज्ञा त्याग र प्रेम निःसृत हुँदा संसार स्वार्थान्ध छ
आफ्नैबाट बचाउ विश्वपति हे फर्केर आऊ अब