उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पार्नुभएको छ । शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताउनुभएको हो ।
सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । ‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी चलौं भन्ने पक्षमा सरकार छैन,’ श्रेष्ठले भन्नुभयो । मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गर्नुभएको छ । ‘जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं। यो अभियान हामी बिसर्जित गर्दैनौं। निरन्तर अगाडि बढाउँछौं,’ उहाँले भन्नुभयो ।
