प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको अन्तरदेशीय सञ्जालको विषयमा अनुसन्धानका लागि इन्टरपोललाई अनुरोध गरिएको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो सुन तस्करीको घटनामा विदेशी नागरिकहरुको संलग्नता र त्यसको अन्तरदेशीय सञ्जाल देखिएकाले अनुसन्धानमा सहयोग गर्न इन्टरपोललाई आग्रह गरिएको बताउनुभयो । विभिन्न मुलुकका नागरिकहरुको संलग्नता यसमा देखिएको र ती देशहरुसँग पनि समन्वय भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसमा अन्तर्राष्ट्रिय सञ्जाल नै सक्रिय रहेको पाइएकाले त्यसको अनुसन्धानका लागि सहयोग गर्न इन्टरपोललाई पनि अनुरोध गरेको बताउनुभयो ।
साउन २ गते भन्सार हुँदै बाहिरिएको ६० केजी सुन बरामद भएपछि उक्त घटनाले राजनीतिक वृत्तलाई नै तरंगित बनाउँदै आएको छ। विपक्षी दल नेकपा एमालेले उच्च सरकारी संलग्नताबिना यति ठूलो परिणाममा तस्करी हुन नसक्ने भन्दै न्यायिक छानबिनको माग गरेको छ ।एमालेले पछिल्लो समयमा बरामद गरिएको अवैध सुन भित्र्याउने कम्पनीले यसअघि ३२ पटक सामग्री नेपाल भित्र्याएको जनाएको छ । विपक्षी दलले छानबिन समितिको माग गरे पनि सरकारले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गर्ने जनाउँदै आएको छ ।
