पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ।सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वीचोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो।पोखरा महानगरपालिकाले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो। बुधवार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए।
पुनः शुक्रबार महानगरले शालिक हटाएपछि पोखरालगायतका स्थानमा शालिक पुनःस्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विरोध भएको हो। प्रदर्शनकारीहरुले ‘शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर’लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
