नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टीका सांसद सुनील शर्मा पक्राउ परेकाे विषयले प्रवेश पाएकाे छ ।कांग्रेस संसदीय दलको आज शुक्रवार बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात/आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका हुन् ।
पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाकाे बारेमा र बैठककाे कार्यसूचीकाे बारेमा ब्रिफिङ गर्नुभएको सांसद डिल्लीराज पन्तले जानकारी दिनुभयो । बैठकमा संसद् बैठकको अवरोध, संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसदमा कांग्रेसको प्रभावकारी भूमिकाकाे बारेमा सांसदहरूले बाेलेका थिए ।
यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोका साथै डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महँगी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा बाेलेका छन् । आजकाे बैठकमा झन्डै २० जना सांसदले धारणा राखेका र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्को बैठक आइतवार दिउँसो १ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ ।
