अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

रास्वपाद्वारा संसद भवनबाहिर संसदको अभ्यास

बिआरटीनेपाल २०८० साउन २४ गते ७:५२ मा प्रकाशित

संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ । बुधबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रस्तुत गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलबार सुन तस्करी प्रकरणबारे दिनुभएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताउनुभयो ।

सभापति लामिछानेले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी गर्नुभयो । उहाँले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताउनुभयो ।सभापति लामिछानेले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताउनुभयो । उहाँले सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग गर्नुभयो ।

त्यस्तै, पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण संसद चल्न नसकेको बताउनुभयो । उहाँले राजनीतिमा रजाईं गरिरहेका सत्तासिन दलहरुका कारण नै संसद बन्धक बनेको बताउनुभयो । प्रमुख सचेतक परियारले अहिलेका राजनीतिकहरुले नै लोकतन्त्रमाथि धोका दिइरहेको बताउनुभयो । पार्टीकी सांसद सुमना श्रेष्ठले समाज विभाजनको बाटोमा लगेर राजनीति नचल्ने बताउनुभयो । उहाँले सामाजिक आक्रोश कम गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । सांसद श्रेष्ठले जनतालाई भोटिङ बैंक मात्रै सम्झने कुरा गलत भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय