अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

देशैभरका नदी तथा खाेलामा जलसतह बढ्याे, कञ्चनपुरमा १ सयभन्दा बढी घरमा पानी पस्यो

बिआरटीनेपाल २०८० साउन २३ गते ५:१० मा प्रकाशित

अविरल वर्षाका कारण काठमाण्डाै उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलाे वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ ।बनेपा, भक्तपुर, टेकु, सामाखुसी, अनामनगर, बानेश्वर, धुम्बाराही तरकारी बजार, बल्खु तरकारी बजारलगायतका बजार डुबानमा परेका छन् । बस्तीहरू जलमग्न भएपछि सर्वसाधारण यति बेला आफ्ना सरसामान व्यवस्थापनमा जुटेका छन् । घरभित्र पसेको पानी उबाउनेदेखि ढल निकासको काममा लागेका छन् ।

काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेकाहरूमध्ये केहीको उद्धार भएको र उद्धार कार्य भइरहेकाे काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिनुभयो ।यसैबीच गए रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घरधुरी प्रभावित भएका स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै अविरल वर्षापछि बाढीका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्र डुबानमा परेको छ । बबई नदीमा बाढीको जलस्तर बढेपछि बाढी गाउँका बस्तीमा पस्ने खतरा छ । यस्तै अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० वटा घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो । घरभित्र पानी पसे पनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति नभएकाे र पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली खटिएकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय