अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने

बिआरटीनेपाल २०८० साउन २२ गते ५:५५ मा प्रकाशित

सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको हो ।

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकार सहमत भएको छैन ।आज सहमति नजुटेपछि भोलि बिहान १० बजे फेरि बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकपछि समामुख घिमिरले भोलि सहमति जुट्ने विश्वास गरेको उहाँको सचिवालयले जनाकारी दिएको छ ।

“सदनको अवरोध खुलाउन पहल गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । मैले पनि नेताहरू उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो,” सभामुखले बैठकपछि भन्नुभएको छ, “तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन ।”उहाँले सहमतिको विकल्प नभएको पनि बताउनुभएको छ । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएको उहाँको भनाइ छ ।

“सहमतिको विकल्प छैन । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतम रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,” सभामुखको भनाइ छ, “म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय