अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा

बिआरटीनेपाल २०८० साउन २१ गते ४:५९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् ।‘प्रचण्ड’ले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । ‘यो बैठकमा बहसहरु भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’, उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’

बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताउनुभयो ।बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र ६ हजार ७ सय वडामा पुगेर तीन महिने अभियान चलाउने निष्कर्षमा पुगेका छौँ’, अध्यक्ष प्रचण्डले आफू पनि सातवटै प्रदेशमा एकएक वडामा पुग्ने घोषणा समेत गर्नुभयो ।

‘म पनि सात वटा प्रदेशका सात वटा वडामा पुगेर जनताको भावना बुझ्ने र सबै केन्द्रीय सदस्य वडामा पुग्ने निष्कर्ष यो बैठकको छ’, त्यसक्रममा जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि देशभरका कुनैपनि घरपरिवार नछोडि जनताका घरमा पुग्ने प्रचण्डले बताउनुभयो। ‘एउटा पनि जनताको घर नछोड्ने, सहिद बेपत्ता ,सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौँ’, प्रधानमन्त्री समेत रहेका प्रचण्डले घोषणा गर्नुभयो । साथै उहाँले बैठकपछि पार्टी एकढिक्का भएकोमा आफू विश्वस्त बनेको बताउनुभयो ।

‘अव यो बैठकबाट निक्लँदै गर्दा यो भन्न सक्छौँ कि हामी एक ढिक्का भएका छौँ, विधि पद्धतिभन्दा बाहिर जाने छैनौ’, प्रचण्डले भन्नुभयो, ‘सरकारका काम जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिनेगरी जनतामा जानेछौँ, विचार र राजनीतिमा मात्र होइन, हामी सवैका लागि यो खुसी र भावनामा पनि एक भएका छौ ।’ प्रचण्डले यो अभियानपछि माओवादी पुन जाग्ने दाबी समेत गर्नुभयो । ‘माओवादी अव फेरि जाग्नेछ । जनताको भावना र चाहाना सम्बोधन गर्न बैठकले नयाँ उज्यालो दिएको छ’, अध्यक्ष प्रचण्डको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय