वर्षादको हिलाम्य गोरेटो
अनि यो लुलो खुट्टो
अलिकति लडुला भन्ने डर
अलिकति पछारिउला भन्ने भय
भन त … ?
भय माथि
कसरी निर्भय हुनु म ?
हो ,
अवश्य तिमी भन्नेछौ
लडे पछि उठ्नु पर्छ
हिलो लागे पखाल्नु पर्छ
खुट्टाहरू मर्किए भने
औषधि-मुलो गर्नु पर्छ
तर ,
विडम्बना!!
तिमीलाई के थाहा….?
यो सहरमा मूल सुकेको
बर्षौ भयो
खोलाहरू बगर भएका छन्
बगर माथि शहर ठडिएको छ
शहर भित्र
अनगिन्ती कथा र व्यथा
झाङ्गिएका छन्
भन त … ?
कथा र व्यथा माथि
कसरी आफूलाई नियालु म…?
तरङ्गित यी भावनाहरू
लतिफा झैँ लहराउँदैन भने
बैराज्ञ र वितृष्णा को सागरमा
डुबुल्की मार्दा भिज्दैनन् भने
मृत्युमा लास सङ्गै फुकिने
एकोहोरो शङ्ख ध्वनि
सुन्दै अत्यास लाग्दो रहेछ
मृत्यु बरु प्यारो लाग्छ
यो ध्वनि…उफ्
भन त … ?
त्यो ध्वनि माथि
कसरी गीत लेखूँ म ?
भन्न त सजिलो हुन्छ
सुन्न पनि असजिलो मान्दिन
तर,
भन्नु र सुन्नुको अन्तरलारलाई
तिमी पकड भन्छौ भने
पल भित्रै हराउँछन्
त्यी अन्तरलारहरु
अनि म निसासिन्छु
मौनको परिभाषा भित्रै
रुन्छु ,धेरै रुन्छु
थोपा थोपाको चोटले
गहिराइ बनाउँदो रहेछ
आफैलाई हल्लाउँदो रहेछ
भन त … ?
त्यो चोट माथि
कसरी कविता लेखूँ म ?