अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 12:39

स्रष्टा

गोपीराम भण्डारी 'बटुवा' २०८० साउन १४ गते १०:१२ मा प्रकाशित

लघुकथा

कविता प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा सम्मान वितरण कार्यक्रम थियो । ऊ कार्यक्रमको विशेष र विजयी अतिथिको रूपमा मञ्चमा आसीन थियो । कार्यक्रम क्रमशः आसन ग्रहण,भाषण ग्रहण र पुरस्कार ग्रहण भई अन्त्योन्नमूख थियो । अतिथिबाट सम्मान तथा पुरस्कार प्रदान भइसकेको थियो । अधिकांश सहभागीहरू चियापानसँगै रासन ग्रहणको लागि लाइनमा थिए । अतिथिहरू मञ्चमै चियापान गर्दै थिए । छेउमै ठड्याईएको साउण्डबक्समा राष्ट्रिय गीत बजिरहेको थियो । सबै आफ्नै धुनका चर्चा परिचर्चामा मस्त थिए ।

एउटा युवती हातमा प्रिन्ट गरिएको कागज बोकेर हस्याङ् फस्याङ गर्दै कार्यक्रम स्थलमा प्रवेश गरिन् । उनले मञ्चको माइक समाउँदै भनिन, “यो चोरी हो, फ्रड हो, मेरो रचना चोरी भएको हो” । यो सुनेर सबैले युवतीको अनुहारतिर हेरे । छेउमा रासन ग्रहण गरिरहेका बुद्धिजीवीहरूले खास खुस गर्दै भने,”यो पागल त होइन ?” कतिपयले अनौठो मान्दै भने ” त्यतिको व्यक्तिले त्यसो नगर्नु पर्ने ,यदि साँच्चै हो भने त बर्बादै भयो” साहित्यकार मध्येको कलिलो साहित्यकारले उपाय सुझायो । “किन टेन्सन लिने ? स्रष्टालाई सोध्यो भने दूधको दूध,पानीको पानी भइहाल्छ” ।

उनीहरूले सोध्नका लागि स्रष्टालाई खोजे तर स्रष्टा त्यता कतै थिएनन् । कार्यक्रम सञ्चालक तथा अन्य अतिथिहरूले समेत विजयी स्रष्टालाई कार्यक्रम स्थलको चारैतिर र शौचालयमा पनि खोजे । स्रष्टा कतै फेला परेनन् । उनीहरूले कार्यक्रम स्थल बाहिर माला लगाई बसेको गेटपालेलाई सोधे “अबिर, माला, खादा लगाएको कोही व्यक्ति देख्नुभयो ? गेटपालेले खुसी हुँदै भन्यो “हो हो सर विजेता सर त भर्खरै प्रमाणपत्र बोकेरै जानु भयो । मलाई माला र खादा लगाइदिएर गाडी चढेर लाग्नुभयो । पालेले खोलाको बाटो देखाइदियाे ।

खोज्न हिँडेका उपस्थित अतिथिहरू आँखाले भ्याउन्जेल खोलातिर हेरे । न त त्यहाँ गाडी नै थियो न त कुनै विजेता नै थियो । थियो त केवल म हुँ स्रष्टा भन्ने युवतीको रुमलिएको आवाज ।