अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 12:35

बाआमाकाे महिमा

विष्णु भण्डारी २०८० असार ३१ गते २१:३७ मा प्रकाशित

कविता
यो संसार रहे बुझिन्छ दुनियाँ पाइन्छ धेरै कुरा
माया प्रेम लिएर शान्त मनले फक्रिन्छ रे आकुरा
बाआमा नभए गयो नि सपना संसार निस्सार छ
हुन् है देव समान ती जगतमा हो बाँच्न आधार छ।१।

मायामा दुनियाँ अडेर धरती सृष्टि चलेको छ रे
पाका वृद्ध सबै निहाल सबले रुन्छन् नि हेलाँ गरे
बाआमा गुरु हुन् हिमाल सरिका आन्टी गुनी बेहद
तिन्कै पालन गर्नु हो सब कुरा अग्लिन्छ हाम्रो कद।२।

यौटा जीवन हुर्कियो मखमली पाएर माया जब
आमाको ममता पिता सकलकाे कर्तव्यले वास्तव
के पायो उसले पिता र जननी राखेर वृद्धाश्रम
ती हाम्रा भगवान् हुन् र गुरु हुन् ठानौँ उनै वैभव।३।

पीडा छन् अभिभावकै बनिकनै सन्तान हुर्काउन
गल्ती हुन्छ भने दिएर ममता लागे नि सम्झाउन
फर्कौँ है जति छौँ सुदूर जगमा सम्झेर आमा बुबा
पढ्छौ धेर किताबका नियम ती मान्छे भने बुर्जुवा ।४।

आशा छन् उनका विशाल मनका भाषा झनै निर्मल
आफ्ना सन्ततिका सवाल कति छन् गर्दै नगर्ने छल
इच्छा ती मनका बुझेर सबले सेवा गरौँ कञ्चन
जो पाल्ला जननी बुबा सकल त्यो मान्छे भयो सज्जन ।५।

प्रतिक्रिया