साउदी अरेबियाले पाकिस्तानको केन्द्रीय बैंकलाई दुई अर्ब डलर रकम पठाएको छ । पाकिस्तानका अर्थमन्त्रीले साउदी अरबबाट ऋण र अनुदान गरेर दुई अर्ब डलर प्राप्त भएको जानकारी दिएका बीबीसी हिन्दीले जनाएको छ ।सङ्कटमा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेज पाएपछि साउदीबाट दोस्रो ठूलो राहत पाएको हो । गएको महिनाको अन्तिम दिनमा पाकिस्तानले आईएमएफबाट तीन अर्ब डलरको राहत प्याकेज पाउने सहमति गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सहयोगका लागि साउदी अरेबियालाई धन्यवाद दिनुभएको छ । यो रकम जम्मा गर्दा पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुने प्रधानमन्त्री शरीफले बताउनुभएको छ । पाकिस्तान र साउदी अरेबियाको सम्बन्ध पाकिस्तानको स्थापनादेखि नै बलियो छ । पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रप्रमुखहरू आफ्नो पहिलो विदेश भ्रमणका रूपमा साउदी जाने गरेका छन् ।