अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 13:06

दोहोरो आँसु

विवेक शर्मा गौतम २०८० असार २५ गते २०:०६ मा प्रकाशित

लघुकथा:

रुद्र प्रसाद झ्यालमा बसेर उर्लेको नदी हेर्दै थिए । “ऊ ! कति खुसी हुनुहुन्छ” श्रीमतीले भनिन् । “यही हेर्नलाई त नदीको छेउ मिचेर बनाएको नि घर” भने। उनलाई बाढी आएको हेर्न औधी मन पर्थ्यो। “झ्यालमा बसेर वर्षा याममा बाढी र हिउँदमा चरा मुसा हेर्नु हुन्छ है !” हजुरले भनिन्।

उनीहरू कुरा गर्दै थिए । जताततै वर्षा भइरहेको थियो। त्यसै बेला उन्माद भएर साँसाँ सुँसुँ गर्दै उर्लिँदै बाढी वारपार भएर आयो। रुद्र प्रसादले भने “हाम्रो गाउँको चिउरीबोटे दाजुको दुहुनो काली भैँसी,हल गोरु,हलो,जुवा ठेकी सबै गोठ सहित बगाएर ल्यायो हेर त हेर मैले चिनिसके “।
चिन्नु हुन्छ नचाहिने ? श्रीमतीले भनिन् । तुरुन्तै गाउँमा फोन गरे । तिम्रो गैरी खेत पनि बाढीले लग्यो भन्ने खबर आयो । श्रीमती नदी तिर हेर्दै थिइन् । त्यसै बेला भेलको बिचमा एउटा लास बगी रहेको थियो । “ऊ हेर त ! हेर ! राम ! राम ! राम ! साईला ससुरा लाई पनि ल्यायो” रुद्र प्रसादले भने । “वहाँले पनि खोला च्यापेर घर उठाउनु भएको छ हैन ?” श्रीमतीलाई प्रश्न सोधे ।

उनलाई जिस्काए झैँ लाग्यो। उनले नदीमा निज्याएर हेरिन् । चिनिन् । साईला बा नै रहेछन्। श्रीमती रुवाबास गर्न थालिन्। टुलुटुल हेरेर अलाप विलाप गरेर रुनु बाहेक लासलाई किनारा लगाउने कुनै उपाय भएन ।

तर रुद्र प्रसादले भने “नरोऊ ! पिर नगर।” हामी पनि त जाने त्यही बाटो हो नि ! ढिलो चाँडो एक दिन कि कसो ?”

त्यति कुरा हुँदै थियो आफ्नो घर भित्र बाढीको पानी पस्न थाल्यो । हतार हतार घर भित्रबाट बाहिर निस्कन सम्म सफल भए । बालबाल आफू मात्र बचे ।

हेर्दा हेर्दै घर ढल्यो । नदीले बगायो। उनीहरू त्यो दृश्य देखेर एकसाथ धुरुधुरु रुदै भने दोहरा आँसु कसैलाई नपरोस् ।

२०८०/०३/२१ हाल टोखा -३ काठमाडौँ ।

प्रतिक्रिया