सम्भवत २०३७-३८ साल तिर हुनु पर्छ, रेडियो नेपालले आफ्नो प्रशारण समय बिस्तारको परीक्षण गर्दै थियो । त्यो भन्दा पहिले, बिहान साढे नौ बजे बिहानीको नियमित प्रशारण बन्द हुन्थ्यो । परीक्षण कालमा थपिएको समयमा कम्तिमा हफ्तामा २-३ पल्ट हिन्दी उर्दु गजलहरु प्रशारण हुन्थ्यो । हो त्यही बेला गजल भन्ने छुट्टै गायन विधा पनि हुँदो रहेछ भन्ने दिव्यज्ञान प्राप्त भयो । मेहदी हसन, गुलाम अलि, फरिदा खानुम, राजेन्द्र र नीना गुप्ता, पंकज उदास, अनुप जलोटा आदिले क्या गजब गाएको है भन्ने चर्चा हुन्थ्यो । बिस्तारै जब नेपाली साहित्यको रस पनि थालमा चुहिन थाले, तब गजलको पजल पनि बिस्तारै बुझ्न थालियो । गजल गाउने भन्दा गजल लेख्ने शेर हुँदा रहेछन् भन्ने कुरा धेरै पछि मात्र थाहा भएर ल्यायो ।
यसरी नेपाली गजलको नशामा पनि भुलियो, मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, ललितजन रावल, रबि प्राञ्जल, प्रकट पगेनी आदिको गजल मधुपर्क, गरिमा, अभिव्यक्ति आदिइत्यादिबाट खुसुक्क सारियो । बेला मौकामा तिनै गजल खोकियो, हिरो पल्टियो । यसरी गजल गाजल जस्तै आँखामा बस्यो । मनको सानो बट्टामा कैद भयो । इन्टरनेट खासगरी युट्युबको क्रान्ति पछि भारतीय उपमहाद्वीपका गजलकारहरुको मुशायरा हेरेर सुनेर गुनेर हामीले कहिले यस्ता दमदार शेरहरु जन्माउन सकिएला भनेर सोच्थें । राहत इन्दौरी, मुनब्बर राणा, खुमार बारबांकीको गजल र डा. कुमार बिश्वासको संचालनको त फिदा नै भएँ । नेपाली साहित्य खासगरी नेपाली काब्य क्षेत्रमा नयाँ पुस्ताको आगमन पर्खेर बसेको थिएँ । बोर्डिंग स्कूलबाट दीक्षित भएका अनि अष्ट्रेलिया अमेरिका गन्तब्य लक्षित शिक्षित भएका नयाँ पुस्ताले नेपाली त आंशिक भाषाको रुपमा अपनाइ सके भने के नेपाली साहित्यलाई माया गरेर भविष्यको भबिष्य बिगारेर बस्थ्यो । बाँकी देशमै अल्झेर बसेका जमातमा गणतन्त्रको बाइप्रोडक्ट- चरम राष्ट्रबाद र जातीबादको धमिरो खाइसकेको अवस्थामा कला, संस्कृति, भाषा साहित्यको बोझ कहाँ बानि रहन्थ्यो र ? यस्तै यस्तै सोच्थें, आफैले आफुलाई घोच्थें ।
तर म गलत रहेछु, यता परदेशमै देश र देशका नयाँ पुस्ता जन्मिसकेको रहेछ । ” गजल यात्रा” को महायात्रामा निस्किसकेको रहेछ, एक पुस्ता । एक दुइ मात्र हैन चार चार संस्करणमा यात्राले बास पाइसकेको रहेछ, बल्ल पाँचौं संस्करण कोलोराडोमा वाचन हुने जानकारी पाएँ । स्थानीय आयोजक राजु सिटौलाभाइको निम्तो पाएँ र टिकेट काटीहालें । यो बिसौनी पनि छुट्यो भने खत्तम हुन्छ बर्बाद हुन्छ । करीब ४ घन्टाको हवाइ यात्रा पछि राती अबेर डेनभर पुगियो । राजु भाइको आतिथ्य मजाले सुतियो । २ जुलाई बिहानै सभास्थल पुग्यौं । डेनभरमा दिनभर साहित्य रसमा डुब्ने भैयो । त्यसो त म न कथाकार, न निबन्धकार, न गजलकार नै हुँ, मात्र जन्मिदै कार बोकेर आएको “ताम्राकार” मात्र । मातृ भाषा पनि रात्रि भाषा पनि नेपाली होइन मेरो लागि तैपनि नेपाली भाषा र साहित्यले चाहिं मोहनी लगाएको हो कि कुन्नि, हुरुक्कै हुने भन्या ।
पहिलो सत्र काब्य प्रतियोगिता पछि जब गजल यात्रा सुरु भयो तब डेनभरको दिनभर बल्ल सुरु भयो । एक से एक गजलहरु प्रस्तुत भए । २२-२३ जना शेर जन्माउनेहरु कोही भन्दा कोही कम थिएनन् । न पाको उमेरका न बाको उमेरका, सब युबा नै थिए । भावमा हावभावमा सब उस्तै थिए । सबैभन्दा महत्वपूर्ण कुरा त त्यहाँ गजल थियो, गजल सुन्ने कानहरु थिए, गजल बुझ्ने मनहरु थिए अनि अनायसै उद्बोधित वाह! वाह! थिए । त्यहाँ कुनै प्रतिस्पर्धा थिएन, सभापति वा उद्घोषणको झन्झट थियो । मात्र मात्र गजल थियो र गजलमय माहौल थियो । चारघण्टा सम्म गजल वाचन गजल गायन हुँदा, सुन्ने मनहरु कहिलेइ घटेन । हलको साइज सानो र कुर्सिको संख्या कम नै रह्यो । चार चार घण्टा उभिएर वाह वाह भन्दा पनि थाकेनन्, आगो आगो ओकल्दा नि पोलेन । क्या गजबको गजल थियो, क्या गजबको माहौल थियो ।
टेक्सासबाट सुरु भएको यो गजल यात्राको गजल उत्सब कोलोराडो पुगेर पाइक पीकमै पुग्यो ( Pike Peak, १४ हजार ११५ फिट उचाइको पर्यटकीय स्थल, सगरमाथा बेसक्याम्प भन्दा मात्र ३ हजार फिट कम उचाइको ) । यसअर्थमा स्थानीय आयोजक र गजल यात्राका स्रष्टा र सर्जकहरु प्रति भित्रि मन देखि आभार । उहाँहरुको शतप्रयासमा हामी उमेरले पचपन कटेका दिल बचपन मै रहेका बृद्धबालकहरु पछि पछि लाग्ने नै छौं । यात्राका यात्रुहरुको फर्किने गन्तब्य फरक फरक भएको र फ्लाइटको ट्याम पनि छुट्टा छुट्टै भएकोले ३ तारिख दिनभर डेनभरमा अड्डा जमाएर बसियो । गजल सर्जक भुपेन्द्रजीको आतिथ्यमा अर्को एक राउण्ड छुटपुट गजल र धेरै राउण्ड च्या गफ भयो । प्रमोद दाइ (प्रमोद आमात्य), बासु पुष्पा अधिकारी, रोहित राना, पवन लामिछाने, राजु सिटौला भाइ र भुपेन्द्र महतसंग त्यो अर्को डेनभरको दिनभर अविस्मरणीय रह्यो ।
असल मनहरुसंग आत्मीयता साटियो । समष्टिमा, यस्तो लाग्यो, यो उत्सब, गजल यात्रा- ५ थिएन, ५ स्टारको गजल यात्रा थियो ।